काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमण टोलीमा रहेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले चीनसँग समझदारी गरेको छ । भ्रमण टोलीमा रहेका नाडा अध्यक्ष करण चौधरी र महासचिव सुरेन्द्रकुमार उप्रेती तथा चिनियाँ काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड अटोमोबाइल सब–काउन्सिल (सीसीपीआईटी–अटो) का पदाधिकारीले समझदारीपत्रमा हस्ताक्षर गरे ।
नाडाले नेपाल–चीन अटोमोबाइल व्यापार र सहकार्य प्रवर्द्धनका लागि समझदारी भएको जनाएको छ । यो सम्झौताले नेपाल र चीनबीच आर्थिक सम्बन्ध सुदृढ गर्न, व्यापार प्रवर्द्धन गर्न र अटोमोबाइल उद्योगमा दिगो विकासका सम्भावना अघि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने नाडाले जनाएको छ ।
यस्तै व्यापार मेला, व्यावसायिक प्रतिनिधिमण्डल आदान–प्रदान र नीति वकालत जस्ता संयुक्त पहलमार्फत दुवै देशका अटोमोबाइल उद्योगका नयाँ सम्भावना खुलाउने लक्ष्य राखिएको नाडाले जनाएको छ ।
‘नाडाले नेपालका अटोमोबाइल क्षेत्रमा लगानीका सम्भावना पहिचान गर्ने, व्यापार मेला आयोजना गर्ने र नेपाली बजारमा रुचि राख्ने चिनियाँ व्यवसायीलाई सहयोग गर्ने छ,’ समझदारीमा छ ।
यस्तै ‘सीसीपीआईटी–अटोले नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने, प्रविधि आदान–प्रदानमा सहयोग गर्ने र संयुक्त कार्यक्रम सञ्चालनमा साथ दिने’ समझदारीमा उल्लेख छ ।
यो समझादारी कार्यान्वयन निगरानी गर्न संयुक्त कार्य समूह गठन गरिने समेत नाडाले जनाएको छ । जसले नियमित प्रगति समीक्षा गर्ने र आवश्यक सुधारका उपाय लिने छ । समझदारी अनुसार दुवै देशका अटोमोबाइल उद्योगलाई दिगो र समृद्ध बनाउँदै आर्थिक सहकार्यको नयाँ अध्याय सुरु गर्ने दिशामा ठोस कदम रहेको नाडाले जनाएको छ ।