
काठमाडौं । बैंकहरूको खराब कर्जा बढ्दै गएसँगै नाफा घट्दै गएकाे छ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा वाणिज्य बैंकहरूको नाफा घटेको छ । बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणानुसार गत वर्षको पुस मसान्तसम्मको तुलनामा यसपालि ४ दशमलव ६२ प्रतिशतले नाफामा कमी आएको हो ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्म २० वाणिज्य बैंकले २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । गत वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले २८ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ नाफा कमाएका थिए ।
यो अवधिमा ९ वटा वाणिज्य बैंकको नाफा घटेको छ । गत आव २०८०/८१ को दोस्रो त्रैमासमा करिब २ अर्ब अर्थात् १ अर्ब ९० करोड ३८ लाख रुपैयाँ खुद नाफा गरेको एनआईसी एशिया बैंकको चालुआवको दोस्रो त्रैमासमा कुल १५ करोड १७ लाख रुपैयाँ मात्रै खुद नाफा छ । यो अवधिमा यस बैंकको नाफा ९२.०३ प्रतिशत घटेको छ ।
यस्तै, गत आवको दोस्रो त्रैमासमा झण्डै एक अर्ब अर्थात् ८६ करोड ७२ लाख रुपैयाँ खुद नाफा गरेको कुमारी बैंकले चालुआवको पुस मसान्तसम्म २७ करोड ५७ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको छ । यो अवधिमा यस बैंकको नाफा ६८.२० प्रतिशतले घटेको छ ।
यस्तै, गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब १ करोड ५३ लाख रुपैयाँ खुद नाफा गरेको राष्ट्रिय वाणिज्य बैंकले चालु आवको सोही अवधिमा ७६ करोड ३० लाख रुपैयाँ मात्रै खुद नाफा गरेको छ । यो अवधिमा यस बैंकको पनि नाफा ६२.१३ प्रतिशतले घटेको छ ।
यस्तै, गत आवको सोही अवधिमा १ अर्ब १३ करोड ६८ लाख रुपैयाँ खुद नाफा गरेको सिद्धार्थ बैंकले यस अवधिमा कुल ५३ करोड २ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको छ । यो अवधिमा यस बैंकको नाफा ३५.३५ प्रतिशत घटेको छ ।
गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कुल १ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ खुद नाफा गरेको कृषि विकास बैंकको चालु आवको पुस मसान्तसम्म कुल ९५ करोड ७५ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिको तुलनामा यस आवको दोस्रो त्रैमासमा यस बैंकको नाफा २९.३४ प्रतिशत घटेको छ ।
यो अवधिमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको ४.९६ प्रतिशत, नेपाल बैंकको २१.८६ प्रतिशत, सिटिजन्सको १५.४५ प्रतिशत र प्राइम कमर्सियलको १४.३३ प्रतिशत नाफा घटेको छ । ९ वाणिज्य बैंकको नाघा घट्दा ११ वाणिज्य बैंकको भने बढेको छ । यो अवधिमा सबैभन्दा बढी नाफा प्रभ्र बैंकको बढेको छ ।
प्रभु बैंकले गत आवको सोही अवधिमा ७२ करोड रुपैयाँ नाफा गरेको भएपनि यस आवको दोस्रो त्रैमासमा भने १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ नाफा गर्न सफल भएको छ । यस बैंकले रिकभरीमा राम्रो सुधार गरेको छ । बैंकले यो अवधिमा ८५.४८ प्रतिशतको नाफा वृद्धि गरेको हो ।
यस्तै, नेपाल इभ्नेटमेन्ट मेगा, ग्लोबल आइएमई, एनएमबि र एभरेष्ट बैंकले पनि राम्रो नाफा वृद्धि गरेका छन् । यी बैंकले क्रमशः ५७.१८ प्रतिशत, ४९.५१ प्रतिशत, ४५.६ प्रतिशत र २१.१ प्रतिशतले नाफा वृद्धि गरेका छन् ।
हालसम्म सबैभन्दा बढी नाफा गर्ने बैंकको अग्रणी सूचीमा भने नबिल बैंक नै छ । नबिलले चालुआवको दोस्रो त्रैमाससम्म कुल ३ अर्ब २४ करोड ४२ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आवको सोही अवधिमा ३ अर्ब २० करोड नाफा गरेको थियो ।