
काठमाडाैं । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा आगामी चैत १ गतेदेखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने ‘२५औँ फ्लोरा एक्स्पो २०८०’ काे तयारी तीव्र गतीमा भइरहेकाे छ । मेलाकाे तयारी तीव्ररूपमा भइरहेकाे फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएकाे छ ।
फ्यानका कार्य सिमित सदस्य तथा रिटेल संयोजक राजु तामाङका अनुसार फ्यानकाे कार्यसमिति तथा २५औैँ राष्ट्रिय पुष्प मेला आयोजक कमिटीबाटै स्वस्फूर्तरूपमा मेलाकाे व्यवस्थापनका लागि याेगदान गर्ने तयारी भएकाे छ ।
तामाङका अनुसार आरआरके सप्लायर्स बाट मेलामा सजावटका लागि आवश्यक कटफ्लावर (स्टिक फूल) सौजन्य स्वरुप उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
बगैंचा सजाउन आवश्यक फूलेको सिजनल फूल तथा फूलेको बिरुवा थापा नर्सरि किर्तिपुरका सञ्चालक तथा फ्यानका कार्य समिति सदस्य कृष्णराम थापाले दिने प्रतिबद्धता जनाएका छन् ।
त्यस्तै राज कृष्ण बजगाई तथा उत्तम तिमिल्सिनाले थापा नर्सरिबाट उपलब्ध गराएको फूल तथा बगैंचा निर्माणका लागि आवश्यक माटो, दूबो लगाएत ढुवानी सहित सौजन्य स्वरुप बगैंचा निर्माण गरिदिने प्रतिबद्धता जनाएका छन् ।
त्यस्तै सजावटको लागि आवश्यक कामदार फ्लोरिकल्चर एसोसिएसन नेपालका कार्य समिति सदस्य तथा गरिमा फ्लावर सप लाजिम्पाटका सञ्चालक दिपेश भट्टराईले उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
त्यसैगरि उक्त मेला अवधिभर आवश्यक पानी फ्यानका कोषाध्यक्ष रामबहादुर तामाङले उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ सञ्चालन हुने प्रदर्शनीमा विभिन्न पुष्प नर्सरी/फर्म/संघ संस्थाहरू गरेर ७३ वटा स्टल रहनेछन् । सो प्रदर्शनीमा करिब ४ सय ५० भन्दा बढी प्रकारका फूल बिरुवाहरूको प्रदर्शनी तथा खरिद बिक्री हुने बताइएकाे छ ।
फूल फुल्ने तथा नफुल्ने आलंकारिक बिरुवा, कट फ्लावर, सुनाखरी, कम्पोस्ट मल, फूलको गानो बीउ बिजन, ग्रिनहाउस कृषि औजार, उपकरण, प्याकेजिङका सामाग्री, सूक्ष्म तथा थोपा सिचाई प्रविधि आधुनिक पुष्प खेती प्रविधि र जैविक विषादी लगायतका प्रदर्शनी हुने छ । सो मेला बिहान १० बजेदेखि साँझ ०५ः३० अवलोकन गर्न सकिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google