काठमाडौं । ललितपुरको जावलाखेल मैदानमा जारी १८औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ आइतवार सम्पन्न भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को आयोजनामा असोज २९ गतेदेखि सुरु भएको सो प्रदर्शनीलाई ३९ हजारभन्दा बढीले अवलोकन गरेका थिए भने एक करोड ३३ लाख बढीको कारोबार भएको जनाइएको छ ।
मेलाको अन्तिम दिन आइतबार मात्र साढे २८ लाखको कारोबार भएको मेलाका संयोजक सुमन महर्जनले जानकारी दिए । मेलामा विशेष गरि गोदावरी, सयपत्रीलगायत सिजनेवल फूल तथा बोटबिरुवाहरुको कारोबार बढी गरिएको बताउँदै फ्यानका अध्यक्ष राजेश भक्त श्रेष्ठले फूल पारखीहरुको संख्या बढ्दै गएको बताए ।
बर्सेनी गर्ने मेलाका कारण व्यवसायी र उपभोक्ताबिच थप समन्बन्ध बिस्तार भइ फार्म र पसलहरुमा उपभोक्ताहरु बढ्दै गएको अनुभव व्यवसायीहरुको छ । आर्थिक मन्दी र तरल राजनीतिक अवस्थाका बावजूद पनि अवलोकनकर्ताहरुको घुँइचो बढेकाले आफूहरु उत्साहित भएको फ्यानका बरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङले बताए । मेलाको स्थान गत वर्षको भन्दा फराकिलो र थप व्यवस्थित भएकाले पनि अवलोकनकर्ता सन्तुष्ट भएको उनको दाबी छ ।
मेलामा व्यवसायिक स्टल ८०, प्लान्ट क्लिनिक स्टल १, अफिसियल स्टल ५, प्रतियोगितात्मक स्टल २, र फोटो सेल्फी स्टल २ गरी जम्मा ९० वटा प्रदर्शनी कक्षहरु राखिएका थिए । विगत वर्षमा झैँ यस वर्ष पनि गोदावरी फूलको ४ वटा विधा (मिनियचर, रिफ्लेक्स, स्पाईडर र ईनकर्भ) मा प्रतिस्पर्धा गरिएको थियो । प्रदर्शनीमा पुरस्कृत हुनेमा प्रथम सम्झना नर्सरी , दोस्रो माइ नर्सरी र तेस्रो आजिमा नर्सरी रहेका छन् ।
त्यसैगरी उत्कृट क्याटेगोरी अन्तर्गत बेष्ट रिफ्लेक्समा माइ नर्सरी, वेष्ट मिनियचनर सम्झना नरी, बेष्ट इन्कर्भमा आजिमा नर्सरी, बेष्ट मेन्टेलेन्समा सम्झना नर्सरी, बेष्ट कट् फ्लावरमा नव सेवा नर्सरी र बेष्ट स्टलमा दिक्षा नर्सरीले उत्कृष्ट पुरस्कार पाएका छन् । नेपालमा २०११ सालमा सामान्य स्तरबाट पुष्प व्यवसाय सुरु भएको ईतिहास रहेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google