
काठमाडौँ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले अवैध रूपमा आयात भइरहेको पुष्प तथा पुष्पजन्य वस्तुमाथि रोक लगाउन माग गरेको छ । फ्यानले बिरुवा क्वारेन्टाइन तथा संरक्षण ऐन २०६४ र नियमावली २०६६ अनुसार आवश्यक प्रक्रिया विना नै निर्वाद रुपमा अवैध पुष्प तथा पुष्पजन्य वस्तु आयात भइरहेको दाबी गरेको हो ।
एक विज्ञप्ति जारी गर्दै फ्यानले अवैध आयातका कारण बिरुवासँगै नयाँ रोग र किराफट्याङ भित्रिएकाले नेपाली किसानहरू ठूलो आर्थिक नोक्सानीमा परेको जनाएको छ । ‘स्वास्थ्यको प्रमाणपत्र विना आयात भइरहेकाले हरेक वर्ष नयाँ रोग फैलिएको र यसको असर स्वदेशी फूल व्यवसायमा देखिएको छ,’ फ्यानको विज्ञप्तिमा भनिएको छ ।
फ्यानले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै ‘नेपालको बजारको पहिलो अधिकार, स्वदेशी अनि स्थानीय उत्पादन’ भन्ने मान्यतालाई आत्मसात् गर्न व्यवसायी र उपभोक्तामा अपिल गरेको छ ।
त्यस्तै, नेपाल सरकारले २०७९ सालमा राजपत्रमार्फत प्लास्टिक जन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री, वितरण तथा भण्डारणमा प्रतिबन्ध लगाए पनि यसको प्रयोग अझै जारी रहेको फ्यानले जनाएको छ । होटेल, रिसोर्ट र पार्टी प्यालेसमा प्लास्टिक फूल प्रयोग भइरहेकाले अनुगमन हुनसक्ने भन्दै फ्यानले आफ्ना सदस्यहरूलाई यस्ता क्रियाकलाप नगर्न सचेत गराएको छ ।
फ्यानले पुष्प क्षेत्रमा सरोकारवालाको सहकार्यमा अवैध कारोबार रोक्न, स्वदेशी उत्पादन प्रवर्द्धन गर्न र व्यवसायीलाई ऐन नियमको परिधिमा रहि व्यवसाय गर्न प्रेरित गर्दै आएको जनाएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google