काभ्रे । तेमाल गाउँपालिकाले ५० करोड ८९ लाख ६८ हजार ८ सय रुपैयाँ बजेट ल्याएको छ । गाउँ सभाको १५औं अधिवेशनमा गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले चालु आर्थिक वर्षको समिक्षा र आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम र उपाध्यक्ष दलमान थोकरले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए । प्रस्तुत नीति तथा कार्यक्रम र बजेट पारित भएको हो ।
प्रस्तुत बजेटमा वित्तिय समानीकरण अनुदान (संघीय सरकार) बाट ८ करोड ८६ लाख, संघीय सशर्त अनुदान २३ ल करोड ८७ लाख, समपुरक अनुदान ६५ लाख, वित्तिय समानकरण अनुदान ८४ लाख २९ हजार, प्रदेश शसर्त अनुदान २ करोड २२ लाख ६८ हजार, समपुरक अनुदान १ करोड, विशेष अनुदान ७० लाख, राजस्व बाँडफाँड संघ ८ करोड ६२ लाख, राजस्व बाँडफाँड प्रदेश २ करोड २ लाख ७१ हजार ८ सय, राजस्व बाँडफाँड स्थानीय १ करोड २० लाख, आन्तरिक आय ९० लाख रहेको छ ।
अध्यक्ष तामाङले प्रस्तुत गरेको नीति तथा कार्यक्रमा सडक पूर्वाधार, शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखिएको छ ।
सडक पूर्वाधार क्षेत्रमा प्रत्येक वडा कार्यालय देखि गाउँपालिका कार्यालय जोड्ने रणनीतिक सडकलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइएको छ । सडक पूर्वाधारमा निक्कै महत्वका साथ तेमालबासीले हेरिहेको यो योजनाले सर्वयाम गाडी सञ्चालन हुने सडक पूर्वाधारको निर्माण भएको तामाङले बताए ।
यसैबीच तेमाललाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाउने नीति लिएको छ । जस अनुसार ‘उत्कृष्ट शैक्षिक गन्तव्य गाउँपालिका हाम्रो पहिचान’ नारा आगाडी सारेको छ ।
चालु आर्थिक वर्षको समिक्षा
तामाङले पूर्वाधार विकास क्षेत्रमा धेरै उपलब्धि हासिल गरेको बताए । चालु आर्थिक वर्षमा ० दशमलव २४७ किलो मिटर पक्की सडक निर्माण, ३३ दशमलव ०५ किमि सडक स्तरोन्नति र २९ दशमलव २५ किमी नयाँ ट्र्यक सडक निर्माण, गोरेटो बाटो २ किमी निर्माण गरेको बताए । विभिन्न वस्ती र पर्यटकीय क्षेत्रहरुमा सर्वयाम गाडी चल्ने सडक पूर्वाधार विस्तार गरेको समिक्षामा उल्लेख छ ।
यसैबीच चालु आर्थिक वर्ष भवन निर्माण १९ वटा, मन्दिर गुम्बा निर्माण ३४ वटा, सत्तल निर्माण १४ वटा, खेलमैदान निर्माण तथा मर्मत ८ वटा र पार्क वा चौतार निर्माण ७ वटा रहेको अध्यक्ष तामाङले बताए । त्यसैगरि चालु आर्थिक वर्षमा खानेपानी तर्फ १ हजार ५० घरधुरीमा स्वच्छ खानेपानी पुगेको र १३।६ हेक्टरमा सिंचाइ सुविधा पुगेको बताए ।
स्वास्थ्य क्षेत्रमा निक्कै प्रगति भएको अध्यक्ष तामाङले बताए । १५ शैयाको अस्पताल निर्माण प्रक्रिया अगाडी बढेको, आँखा, दाँत र ठूलो आन्द्राको क्यान्सर सम्बन्धी निःशुल्क शिविर सञ्चालन गरेर ३ हजार २ सय ४८ जनालाई स्वास्थ्य सेवा उपलब्ध गराएको उनले बताए ।