काठमाडाैँ । नेकपा एमाले इलामको अध्यक्षमा गणेशप्रसाद बराल निर्वाचित भएका छन् । शनिबार बिहान सकिएको पार्टीको ११औँ अधिवेशनबाट बराल अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षमा निर्वाचित बरालले ३ सय ८१ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी नरेन्द्रनाथ भट्टराईले १ सय ९५ मत प्राप्त गरेका छन् । बराल र भट्टराबीचको मतान्तर १ सय ८६ छ ।
यसैगरी, उपाध्यक्ष उदयबहादुर राई निर्वाचित भएका छन् । उपाध्यक्षमा निर्वाचित राईले उमेश गुरुङलाई पराजित गरेका हुन् । राईले २ सय ५० मत प्राप्त गर्दा उमेश गुरुङले १ सय ८४ र बुद्धिप्रसाद खनालले १ सय ३७ मत पाए ।
यस्तै, सचिवमा रामप्रसाद सुवेदी (रविन्द्र) निर्वाचित भएका छन् । सुवेदीले प्रतिस्पर्धी प्रकाश अधिकारीलाई २४ मतान्तरले पराजित गरे । सुवेदीले २ सय ९२ मत पाउँदा अधिकारीले २ सय ६८ मत प्राप्त गरे ।
उपसचिव (खुला) मा निकटतम प्रतिस्पर्धी छवि श्रेष्ठलाई २६ मतान्तरमा पराजित गर्दै रमेश राई निर्वाचित भएका छन् । राईले १ सय ७० मत प्राप्त गर्दा श्रेष्ठले १ सय ५३ मत पाए । अन्य प्रतिस्पर्धी यामबहादुर राईले १ सय ३४ र मानविर लुहागुनले ५६ मत मात्र पाए ।
त्यसैगरी, उपसचिव (महिला) मा प्रतिस्पर्धी विष्णुमाया रिमाल (आचार्य) लाई ९२ मतान्तरमा पराजित गर्दै दिलकुमारी लिम्बू निर्वाचित भएकी छिन् । लिम्बूले ३०९ मत पाउँदा रिमालले २१७ मत मात्र प्राप्त गरिन् ।
बिहीबारदेखि सुरु भएको अधिवेशनमा जिल्लाका ८१ वटा, २१ जनसङ्गठन र पेसागत सङ्गठन, तीन इलाका शाखा एउटा विशेष वडा कमिटीबाट चयन भएका पाँच सय ८७ प्रतिनिधि सहभागी थिए । निर्वाचनमा भने ५८१ मत मात्रै खसेको थियो ।