उनले आफ्ना बुबाहरुले आम नागरिकका लागि बोकेको उद्देश्य कम्युनिष्ट पार्टीबाट पूरा हुने नदेखेपछि रास्वपा रोजेको बताइन्
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबार केन्द्रीय समितिमा १६ जना थप गर्दा लिमा अधिकारी पनि अटाएकी छन् । उनी नेकपा एमालेका दिवंगत नेता भरतमोहन अधिकारीकी माइली छोरी हुन् । व्यवसायमा समेत आवद्ध अधिकारी लामो समय नेकपा एमालेमा सक्रिय थिइन् । ठूलोबुबा मनमोहन र बुबा भरतमोहनले अगाडि बढाएको पार्टीमा २२ वर्ष संगठित सदस्य रहेकी उनी एमालेको उद्योग विभागमा समेत थिइन् ।
माधव नेपालले एमाले विभाजन गरेर नयाँ दल बनाएपछि लिमा नेकपा एकीकृत समाजवादीमा आवद्ध थिइन् । उनले आफ्ना बुबाहरुले आम नागरिकका लागि बोकेको उद्देश्य कम्युनिष्ट पार्टीबाट पूरा हुने नदेखेपछि रास्वपा रोजेको बताइन् ।
एकीकृत समाजवादीको केन्द्रीय परिषद सदस्य समेत रहेकी अधिकारी ४ मंसिरको प्रतिनिधिसभा बैठकमा समानुपातिकतर्फको बन्दसूचीमा थिइन् । नेपाल चेम्बर अफ कमर्शको कार्य समिति सदस्य रहेकी उनी नेपाल पूर्वाधार विकास बैंकको निर्देशकसमेत छिन् ।