काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टी महाधिवेशन सार्ने तयारी थालेको छ । यसअघि माघ १४ गतेदेखि १८ गतेसम्म महाधिवेशन गर्ने तय भएपनि त्यसलाई सार्ने तयारी पार्टीले थालेको हो । देशको अवस्थाका कारण तयारी पनि नपुगेको कारण देखाउँदै पार्टीले महाधिवेशन धकेल्ने निर्णय गराउने तयारी गरेको छ । सोमबार बसेको सचिवालय बैठका यस विषयमा कुराकानी भएपनि निर्णय भने नभएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। राष्ट्रिय महाधिवेशनको सम्बन्धमा भने भोलि(मंगलवार) बस्ने बैठकले निर्णय गर्ने जानकारी दिए ।
महाधिवेशन गर्न नसक्नुको कारणमा नेकपा एसले जाजरकोट भूकम्पलाई देखाएको छ । यसका साथै माघ ११ गते राष्ट्रिय सभाको चुनाव हुने भएकाले पनि महाधिवेशनमा ध्यान केन्द्रित गर्न नसकिने पाटीको ठहर छ । ‘राष्ट्रिय महाधिवेशन माघ १४ गतेदेखि १८ गतेसम्म गर्ने पहिल्यै तय गरेका थियौँ । जाजरकोट भूकम्पका कारण धनजनमा ठूलो क्षति भएको अवस्थामा राष्ट्रिय महाधिवेशनको तयारी गर्नका निम्ति कतिपय मानवीय संवेदनशीलताका विषय पनि जोडिएको कारणले त्यसले पनि प्रभावित गर्यो,’ उनले भनका छन्, ‘माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनको तयारीको सन्दर्भले पनि हामीलाई अलिकति बाधा पुर्याएको छ। यी सबै कुरालाई हेरी, पार्टी संगठन सुदृढीकरणको आम आवश्यकता, आजको परिस्थिति, भुकम्पको स्थिति, राष्ट्रिय सभाको निर्वाचन र समग्र कामको तयारी व्यवस्थापनका विषयहरुलाई हेरेर हामीले निर्णय लिनुपर्ने भएको हुनाले यि निर्णय गर्ने कुरालाई भोलिका लागि सारेका छौँ ।’
पार्टीले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय चाहिँ गरेको छ । ‘राष्ट्रिय सभा निर्वाचनको लागि नेकपा(एकीकृत समाजवादी)लाई निर्वाचन आयोगमा दल दर्ता गर्ने भन्ने मात्रै निर्णय गरेका छौँ,’ उनले भने ।
नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भनेजस्तो मध्यावधि चुनावको सम्भावना भने नभएको प्रवक्ता खतिवडाले बताए। मध्यावधि निर्वाचनको सम्भावना नदेखेका कारण पार्टीले बैठकमा छलफलको विषय नै नबनाएको उनको भनाइ छ ।
महोत्तरीको जलेश्वरमा मंसिर १३ गते सम्पन्न रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले पारित गरेको सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा मध्यावधि चुनाव हुन सक्ने जिकिर गरिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक सभाहरूमा मध्यावधि चुनाव हुन सक्ने बताउँदै आएका छन्।
‘मध्यावधि निर्वाचनलाई पार्टीगत रुपमा छलफलको विषय बनाएका छैनौँ । नेपालको संविधानले अचानक कसैलाई चाहने बित्तिकै श्री केपी ओलीले विगतमा दुई तिहाइ बहुमतको लागि मलाई भोट दिनुहोस् भनेर मध्यावधि घोषणा गरेजस्तो परिस्थिति नेपालको संविधानले उल्लेख गरेको छैन,’ उनले थपे, ‘यसले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बाट उपधारा ३ हुँदै उपधारा ५ सम्म नपुगिकन अरु विकल्पहरु खोज्न सकिँदैन । यसकारण मध्यावधि चुनावको आज कुनै सम्भावना देखिएको छैन ।
केही राजनीतिक दलहरुले सरकारलाई अस्थिर बनाउने र कमजोर पारी राजनीतिक रोटी सेक्नका लागि मध्यावधिको हल्ला गरेको उनको टिप्पणी छ । ‘मध्यावधि चुनाव केही राजनीतिक दलहरुले सरकारलाई अविश्वसनीय र अस्थिर बनाउने, सरकारलाई कमजोर पार्ने र आफ्नो राजनीतिको रोटी सेक्ने हल्ला मात्रै हो भन्ने मैले बुझेको छु,’ उनले थपे । एकीकृत समाजवादीको सचिवालय बैठक भोलि(मंगलवार) बिहान ११ बजे पुनः बस्नेछ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google