
काठमाडाैं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदमा आफ्ना विषयवस्तु उठान गर्न पाइने बताएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माओवादी केन्द्रका सांसद लेखनाथ दाहालको बुधबारको प्रतिनिधिसभाको बैठकको अभिव्यक्तिप्रति आपत्ति जनाएपछि संसदमा समय माग गरी बोल्दै प्रमुख सचेतक पाण्डेले संसदलाई व्यवस्थित रूपमा अघि बढाउने कुरा भइरहँदा प्रमुख प्रतिपक्षी दलले यस्ता विषवस्तु उठाउनु नहुने बताए । उनले सार्वभौम संसदमा सांसदले आफ्ना विषयवस्तु राख्न पाउने भन्दै संसदलाई व्यवस्थित रुपमा लैजानुपर्नेमा जोड दिए ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उठेर विरोध गरिरहेका एमाले सांसदहरूले सरकारविरुद्ध नाराबाजी गर्दै वेल घेराउ गरेका थिए । सत्तारुढ माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथमा पित्तलको जलहरी चढाएर एमाले अध्यक्ष केपी ओलीले भ्रष्टाचार गरेको आरोप लगाएपछि सरकारलाई त्यसको जवाफ दिन माग गर्दै एमालेका सांसदहरुले संसद चल्न नदिने अडान लिएका छन् ।