सन्तोष दहाल, ललितपुर । नेकपा एमालेकाे भातृ संगठन राष्ट्रिय युवा संघ गोदावरी नगर कमिटिको अध्यक्षमा विकास तामाङ सर्वसम्मत रुपमा चयन भएका छन् । शनिबार सम्पन्न नगर कमिटिको तेश्रो अधिवेशनले तामाङको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिका अन्य पदाधिकारीहरुमा राहुल महर्जन उपाध्यक्ष,दामोदर कार्की सचिव,झरना नगरकोटी र दिपेश अधिकारी सहसचिए रहेका छन् भने सजना नगरकोटी कोषाध्यक्ष रहेकी राष्ट्रिय युवा संघ जिल्ला कमिटी सहसचिव आरबी शर्माले जानकारी दिएका छन् ।
शनिबार चापागाउँमा सम्पन्न अधिवेशनमा युवा संघका पूर्व अध्यक्ष तथा नेकपा एमाले केन्द्रिय सदस्य किरण पौडेल प्रमुख अतिथी रहेका थिए । साथै अधिवेशनमा बाग्मती प्रदेश सभा सदस्य तथा एमाले संसदीय दलका सचेतक मधुसूदन पौडेल,पूर्व सांसद चेतनाथ सञ्जेल,जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम आचार्य पार्टी नगर कमिटिका अध्यक्ष प्रभाकर थापा लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी किरण पौडेलले पछिल्लो समयमा युवा पुस्तामा राजनीतिक नेतृत्वप्रती नैराश्यता छाएकोले युवा संघले सगठन विस्तार भन्दा पनि जनताको जीवनस्तर सुधार्ने र सकारात्मक प्रभाव पर्ने गरि रचनात्मक काम गर्न सुझाव दिए ।
सांसद मधुसुदन पौडेलले एमालेलाई चौतर्फी घेराबन्दी भईरहेको भन्दै एमालेले सरकारमा तथा सरकारबाहिर रहँदा गरेका राम्रा कामलाई जनताको बीचमा पुर्याउन युवाले भूमिका खेल्नुपर्ने बताए ।