आठ दलको समर्थनमा रामचन्द्र पौडेलले दर्ता गराए राष्ट्रपतिमा उम्मेदवारी

दर्पण दैनिक १३ फाल्गुन २०७९,१५:०५
post

काठमाडाैं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालय संसद भवन पुगेर पौडेलले शनिबार दिउँसो सवा २ बजे उम्मेदवारी दर्ता गरएका हुन् । पौडेलले संसद्मा रहेका आठ दलको समर्थनमा उम्मेदवारी दर्ता गराएका छन् ।

उनले उम्मेदवारी दर्ता गराउँदा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेताहरू संसद भवनमा उपस्थित थिए । 

पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोक राई र अब्दुल खान रहेका छन् । यस्तै समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहेका छन् । 

शुक्रबार साँझ आठ दलले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेपछि शनिबार बिहान बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । 

पौडेललाई कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति र राजमोको समर्थन । राष्ट्रपति चुनावमा संघीय संसदका सांसद र प्रदेशसभाका सांसदले मतदान गर्न पाउँछन् । पौडेललाई समर्थन गर्ने सांसदहरूको स्पष्ट बहुमत भएकाले उनले चुनाव जित्ने लगभग पक्का छ । 

पौडेलभन्दा पहिला नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् । देशको तेस्रो राष्ट्रपतिका लागि पौडेल र नेम्वाङबीच प्रतिस्पर्धा हुने भएको छ । चुनाव यही २५ फागुनमा हुनेछ । 

निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको अन्तिम नामावली अनुसार राष्ट्रपति निर्वाचन ८८२ जनाले मत दिन पाउनेछन् । जसमा ५५० प्रदेशसभा सदस्य र ३३२ संघीय सांसद रहनेछन् ।

३३४ संघीय सांसदमध्ये दुईजनाले मतदानमा भाग लिने छैनन् । रवि लामिछानेको निर्वाचन क्षेत्र चितवन २ मा रिक्त रहेको छ भने कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बित अवस्थामा छन् । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ५४ बमोजिम संघीय सांसदको मतभार ७९ र प्रदेश सभा सांसदको मतभार ४८ रहेको छ ।
 
यसरी हेर्दा संघीय संसदमा तत्काल कायम रहेका सांसद संख्या ३३२ लाई ७९ ले हिसाब गर्दा २६ हजार २२८ मतभार हुन आउँछ ।  त्यस्तै, प्रदेश सभाका ५५० सदस्यलाई ४८ ले हिसाब गर्दा २६ हजार ४०० हुन आउँछ । यसरी हेर्दा राष्ट्रपति निर्वाचनको कूल मतभार ५२ हजार ६२८ हुन्छ । यसमध्ये बहुमत ल्याउने उमेदवार राष्ट्रपतिमा विजयी हुनेछ ।

 
 
कांग्रेसलाई सघाउने निर्णय गरेका आठ दलसँग कति छन् मतभार ?

 
आठ दलसँग कति छ मतभार ?

 
नेपाली कांग्रेस– १६ हजार १४२ ( टेकबहादुर गुरुङ निलम्बन भएकाले भोट हाल्न नपाउँदा)
 
नेकपा माओवादी केन्द्र– ७ हजार ६४९
 
नेकपा एकीकृत समाजवादी– २ हजार ५७४
 
जनता समाजवादी पार्टी (जसपा)– २ हजार १४५
 
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)¬– ९७१
 
जनमत– १ हजार २४२
 
नागरिक उन्मुक्ति– ८९२
 
राष्ट्रिय जनमोर्चा (राजमो)– २०६
 
आठ दलले कांग्रेसका उमेदवारलाई मत हाल्दा ३१ हजार ८२१ मतभार हुन आउँछ ।


 
अरु कुन दलसँग कति छ ?

 
नेकपा एमाले– १५ हजार २८१
 
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)– १५०१
 
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)– २ हजार ४५०
 
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)– २२३
 
संघीय समाजवादी– ४८
 
हाम्रो नेपाली पार्टी– ९६
 
स्वतन्त्र– ८१३
 
मनोनीत – २३७

 
ती आठ दल बाहेक अरुसँगको मत २० हजार ६४९ रहेको छ ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९