काठमाडौं । काठमाडौं को माइतीघरदेखि बानेश्वर क्षेत्रसम्म प्रदर्शनमा गरिएको निषेध सरकारले हटाएको छ । निषेधित क्षेत्र तोक्ने काठमाडौं जिल्ला प्रशासनको आदेश फिर्ता लिइएको हो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नयाँ वर्षसँगै तीन सुरुवात भन्दै काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म कायम निषेधित क्षेत्र हटाइएको, ठमेल र दरबारमार्ग क्षेत्र व्यापारिक प्रयोजनका लागि स्पष्ट मापदण्ड, आचारसंहिता र पूर्ण सुरक्षा प्रत्याभूतिसहित २४ सै घण्टा खुलाइएको र आन्दोलनका क्रममा भएको क्षतिको आन्दोलनका क्रममा भएको भर्पाई प्रदर्शनकारी पक्षबाट उठाइने निर्णय लिएको जानकारी सार्वजनिक गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारप्रति सम्मान छ । यो लोकतन्त्रको सौन्दर्य हो । तर, आन्दोलनको क्रममा सार्वजनिक सम्पत्ति तोडफोड गर्न पाइँदैन । त्यसैले, आन्दोलनका क्रममा भएको वा हुने क्षतिको भर्पाईका लागि आयोजक (व्यक्ति, संस्था वा दल)लाई बिल पठाउने र सरकारी बाँकी सरह उठाउने निर्णय भएको छ । मैले कार्यकाल सुरु गरेपछिका प्रदर्शनका क्रममा भएका सार्वजनिक क्षतिको विवरण संकलन भइरहेको छ । बिल चाँडै पठाइने छ । नयाँ वर्ष २०८१ को शुभकामना ।’
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google