काठमाडाैं । नेकपा एमालेले संसदीय सुनुवाइ विशेष समितिमा रहने ५ जना सांसदको संसद् सचिवालयलाई उपलब्ध गराएको छ । कांग्रेससरह प्रतिनिधिसभाबाट ४ र राष्ट्रिय सभाबाट १ सदस्य पाउने सहमति भएपछि एमालेले ५ जनाको नाम बुझाएको हो ।
संसद् सचिवालय स्रोतका अनुसार एमालेले प्रतिनिधिसभातर्फ सचिव योगेश भट्टराई, प्रमुख सचेतक पदम गिरी, सचेतक महेश बर्तौला र सांसद ईश्वरी घर्तीलाई सुनुवाइ समितिमा पठाएको छ ।
यस्तै राष्ट्रियसभाबाट एमालेका देवेन्द्र दाहाल सदस्य हुने तय भएको छ । १५ सदस्यीय समितिमा प्रतिनिधिसभाबाट १२ र राष्ट्रियसभाबाट ३ सदस्य रहने छन् ।
विशेष समितिमा प्रतिनिधिसभाबाट माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जसपाले एक–एक सदस्य पाएका छन् ।
समितिमा सत्तापक्षको बहुमत पुग्ने देखिएको छ । कांग्रेसका ५, माओवादीका २ र जसपा १ गरी ८ सांसद हुनेछन् । यस्तै एमालेका ५ तथा रास्वपा र राप्रपाका एक–एक गरी विपक्षी दलका ७ सांसद हुनेछन् । समितिको सभापति कांग्रेसले लिने सहमति भएको छ ।