काठमाडौँ । नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले गृहमन्त्री ओमप्रकाश अर्यालको अभिव्यक्तिले नै यो सरकार २१ फागुनमा निर्वाचन गर्ने तयारीमा छैन भन्ने संकेत दिएको बताएका छन् । दर्पण दैनिकसँग कुरागर्दै शाहीले गृहमन्त्रीले बारम्बार आफैँ अराजक अभिव्यक्ति दिंदै, हिंसा भड्काउने र समाजलाई उत्तेजित पार्ने खालका भाषण गरेर निर्वाचनको वातावरण बिगारिरहेको आरोप लगाएका हुन् ।
शाहीले भने, ‘गृहमन्त्रीको गतिविधिले निर्वाचनमा शान्ति–सुरक्षाको व्यवस्था गर्न सक्दैन र यो सरकार फागुन २१ मा निर्वाचन गर्ने तयारीमा छैन भन्ने संकेत दिएको छ ।’
साथै उनले लुटिएका हतियार गृहमन्त्री अर्यालले नै लुकाएको आशंका उत्पन्न भएको बताएका छन् । शाहीले भने, ‘जेन–जी आन्दोलनका क्रममा अराजक र उग्र अभिव्यक्ति दिएर युवालाई भड्काउने र आगजनी गर्न उक्साउने व्यक्ति नै गृहमन्त्री बन्नु र लुटिएका हतियार राजनीतिक दलले जिम्मा लिनुपर्छ भन्ने अफवाह फैलाउनुले यो आशंका बलियो बनाएको छ ।’
उनले भने, ‘गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जी आन्दोलनका क्रममा लुटिएका हतियार राजनीतिक दलले सरकारविरोधी गतिविधिमा प्रयोग नगरिने प्रतिबद्धता व्यक्त गर्नुपर्छ, भन्ने गैर–जिम्मेवार धारणा सार्वजनिक गरेर यो सरकारले शान्ति सुरक्षा कायम गर्न र निर्वाचन सम्पन्न गराउन असक्षम छ भन्ने शंका पनि बढेको छ ।’
जेन–जी आन्दोलनका क्रममा भगाइएका कैदी र लुटिएका हतियारलाई नियन्त्रणमा लिन तत्काल सुरक्षा निकायलाई परिचालन गर्नुको सट्टा अराजकता मच्चाउने, आगजनी गर्ने र लुटपाट गर्नलाई कारबाही नगर्न प्रहरीलाई दबाब दिने गृहमन्त्रीको व्यवहारले उनकै विरुद्ध धेरै प्रश्नहरू खडा भएका शाहीले बताए ।
उनले भने, ‘यसरि आफ्नो जिम्मेवारिबाट भाग्नु गृहमन्त्रीको लाचारिपन र कायरता हो ।गृहमन्त्री भनेको देशको सम्पूर्ण शान्ति–सुरक्षा कायम गर्ने, अमनचैन बनाइराख्ने र सम्पूर्ण नागरिकलाई सुरक्षाको प्रत्याभूति दिने गहन जिम्मेवारी बोकेको व्यक्ति हो । तर हालका गृहमन्त्रीले बारम्बार आफैँ अराजक अभिव्यक्ति दिंदै, हिंसा भड्काउने र समाजलाई उत्तेजित पार्ने खालका भाषण गरेर निर्वाचनको वातावरण बिगारिरहेका छन् । उनको गतिविधिले निर्वाचनमा शान्ति–सुरक्षाको व्यवस्था गर्न सक्दैन र यो सरकार फागुन २१ मा निर्वाचन गर्ने तयारीमा छैन भन्ने संकेत दिएको छ ।’
डर–त्रासको अन्त्य गर्ने, भयरहित वातावरण सिर्जना गर्ने र कानूनी राज्यको पालना गर्नुको सट्टा उल्टै धम्कीको भाषा बोल्दै हिड्ने गृहमन्त्रीको अराजक शैलीले राष्ट्रिय एकतामाथि आघात पुर्याएको छ र सामाजिक सद्भावमा खलबलको अवस्था सिर्जना गरेको शाहीले आरोप लगाए । उनले भने, ‘गृहमन्त्रीको महत्वपुर्ण जिम्मेवारिमा बसेर एथेन्टिक सुचना बिना नेताहरु भागे भनेर भ्रामक हावा समाचार फैलाउदै हिड्नु उनको अफवाह को खेति हो भन्ने पुस्टि भएको छ ।’
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google