कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : ३ वटै प्रस्ताव पारित

दर्पण दैनिक १७ भाद्र २०८१,०८:५०
post

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गत फागुनमा महासमितिमा पेस भएका नीति, सांगठानिक र समसामयिक राजनीतिसम्बन्धी ३ वटै प्रस्ताव पारित गरेको छ । उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति, महामन्त्री गगन थापाले पेस गरेको सांगठानिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको समसामयिक राजनीति प्रस्ताव परिमार्जनसहित आइतबारको केन्द्रीय समिति बैठकबाट पारित भएको हो ।

गत फागुन १० गते सकिएको महासमिति बैठकले महासमिति सदस्यहरूका सुझावसहित ३ वटै प्रस्ताव केन्द्रीय समितिबाट अनुमोदनको निर्णय गरेको थियो । उक्त निर्णय भएको ५ महिनापछि प्रस्तावहरू कांग्रेसले पारित गरेको हो । प्रवक्ता प्रकाशशरण महतले उपसभापति, महामन्त्रीद्वयले महासमितिमा राखेका प्रस्ताव केन्द्रीय समितिले परिमार्जनसहित पारित गरेको जानकारी दिए ।


महाधिवेशनको मितिसहितको विषयलाई केन्द्रीय समितिले अगाडि बढाउने, एक्जिट पोलिसीसहितका विषयलाई सम्बोधन गर्नेसहित आवश्यक संशोधन गर्नका लागि विधान मस्यौदा समिति गठन गर्ने निर्णय पनि कांग्रेसले गरेको छ । यस्तै, सदस्यता वितरणलाई प्रभावकारी बनाउने, विदेशस्थित जनसम्पर्क समिति र भ्रातृ संस्थाको अधिवेशन गर्न निर्देशन समिति गठनसहितको निर्णयसमेत कांग्रेसको बैठकले गरेको छ । बैठकले नेकपा एमालेसँग सत्ता समीकरणका बेला भएको ७ बुँदे सहमतिलाई कार्यान्वयन गर्न पार्टी प्रतिबद्ध रहेको निर्णय पनि गरेको छ । 
बैठकले संविधानका सबल र दुर्बल पक्षलाई हेर्दै संविधान संशोधन गर्ने र यसको कार्यान्वयनलाई प्रभावकारी ढंगले अगाडि बढाउने निर्णयसमेत गरेको छ । त्यस्तै, कांग्रेसको संगठन सुदृढीकरणका लागि अभियान सञ्चालन गर्ने केन्द्रीय समितिले निर्णय गरेको प्रवक्ता महतले बताए । क्रियाशील सदस्यता वितरण र नवीकरण अघि बढाउने निर्णय पनि भएको प्रवक्ता महतको भनाइ छ । ‘पार्टी संगठनलाई बलियो बनाएर एक्लै जित्न सक्ने परिस्थिति बनाउने गरी निर्णय गरिएको छ,’ प्रवक्ता महतले भने, ‘विधानअनुसार १५औँ महाधिवेशन समयमै गर्ने गरी अघि बढ्ने भन्ने कुरा भएको छ ।’


त्यस्तै, २०८२ सालभित्रै महाधिवेशन गर्ने महामन्त्री गगन थापाको प्रस्तावमा महाधिवेशनको मिति घोषणाको अधिकार केन्द्रीय समितिकै भए पनि संगठन सुदृढीकरण, कार्यकर्तामा अधिवेशनमा हुने अस्वस्थ भावनाको न्यूनीकरण र निर्वाचनमा जाँदा पार्टीमा एकताको भावना विकासका लागि विधानले तोकेकै समयमा महाधिवेशन गर्ने कार्यकर्ताको भावनाअनुरुप आफूले त्यस्तो प्रस्ताव राखेको भन्दै त्यसलाई पार्टी केन्द्रीय समितिबाट मिति तय गर्नेगरी सच्याएका छन् ।

उनले महाधिवेशन समयमै सम्पन्न गर्न क्रियाशील सदस्यता वितरण सदस्यता कार्ड वितरणसहित काम संगठन सुदृढीकरण अभियानसँगै सञ्चालन गर्ने प्रस्ताव अघि सारेका छन् । ‘महाधिवेशन २०८२ भित्रै गर्ने भन्ने व्यवस्थामा ‘महाधिवेशन समयमै सम्पन्न गर्न सदस्यता वितरणसहितका काम अघि बढाउने छौँ । विधान संशोधनका लागि सबै तहबाट छलफल र सुझाव दिनेगरी काम अघि बढाउन छिटै विधान मस्यौदा समिति गठन गर्ने छौँ,’ थापाले आफ्नो परिमार्जित प्रस्तावमा भनिएको छ, ‘केन्द्रीय समितिले विधान अनुरुप तोकिएकै समयमा मिति घोषणा गरी महाधिवेशन सम्पन्न गर्नेछौँ ।’

थापाले पार्टी संगठन बनाउने र भ्रातृ तथा शुभेच्छुक संस्था कस्ता बनाउने भन्ने विषयमा पनि छुट्टै छलफल र निर्णय गर्ने बताए । सभापति शेरबहादुर देउवासँगको समन्वयमा भएको सहमतिका आधारमा महामन्त्री थापाले पार्टी केन्द्रीय समितिमा आफ्नो धारणा राखेका हुन् । 


२०८४ को निर्वाचनमा एक्लै लड्ने

त्यसैगरी कांग्रेसले २०८४ को निर्वाचन एक्लै लड्ने गरी पार्टी संगठनलाई बलियो बनाएर लैजाने निर्णय गरेको छ । सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकपश्चात् बोल्दै प्रवक्ता प्रकाशशरण महतले महामन्त्री गगन थापाको प्रस्तावमाथि छलफल गर्दै संगठनलाई चलायमान बनाउने र सक्रिय सदस्य नवीकरण गरेर अगाडि बढ्ने निर्णय गरेको जानकारी दिए । उनले २०८४ सालमा गठबन्धन गर्ने÷नगर्ने भन्ने विषयमा पार्टीलाई एकीकृत बढाएर अगाडि एक्लै जित्न सक्ने वातावरण बनाउन लाग्ने निर्णय भएको बताए ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९