काठमाडौं । नेकपा एमालेले पार्टीका करिब ९ लाख संगठित सदस्यसहित देशभरका लाखौं कार्यकर्ताहरूलाई एकैपटक सक्रिय गराउन २ महिने अभियान थालेको छ । फागुन २ गते फिल्डमा खटिने केन्द्रीय सदस्यहरूलाई आ-आफ्नो प्रदेशमा अभिमुखीकरण गरेर सो अभियान अघि बढ्ने भएको छ ।
केन्द्रीय सचिवालयको पछिल्लो बैठकको निर्णयअनुसार सातजना सचिवलाई सात प्रदेशको फिल्ड कमाण्डर तोकिएको छ । समग्र कामको अनुगमन गर्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित उपाध्यक्षहरूलाई प्रदेश तोकेर अनुगमनको जिम्मा दिइएको छ ।
कुन प्रदेशमा को ?
प्रदेश १ मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले २ महिने अभियानको अनुगमन गर्दा फिल्ड कमाण्डरका रुपमा सचिव टोपबहादुर रायमाझी तोकिएका छन् । त्यस्तै मधेस प्रदेशको अनुगमन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्नेछन् भने सचिव रघुवीर महासेठ फिल्ड कमाण्डर हुनेछन् ।
वागमतीमा उपाध्यक्ष सुरेन्द्र पाण्डेले अनुगमन र सचिव गोकर्ण विष्टले फिल्ड कमाण्ड गर्दा गण्डकीमा उपाध्यक्ष युवराज ज्ञवाली अनुगमनमा खटिएका छन् भने सचिव पद्मा अर्याल फिल्ड कमाण्डर तोकिएकी छन् ।
त्यस्तै लुम्बिनीमा अनुगमनको जिम्मा उपाध्यक्ष रामबहादुर थापा बादलले पाएका छन् भने सचिव छविलाल विश्वकर्मा फिल्ड कमाण्डर तोकिएका छन् । कर्णालीमा उपाध्यक्ष सुवास नेम्वाङ अनुगमन र सचिव योगेश भट्टराई फिल्ड कमाण्डर तोकिएका छन् ।
सुदूरपश्चिममा उपाध्यक्ष विष्णु पौडेल अनुगमन र सचिव लेखराज भट्ट फिल्ड कमाण्डर तोकिएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।