काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सबै भ्रष्टाचारीहरूलाई एकैपटक जेलमा कोच्नु नै आफ्नो पार्टीको विचार भएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टी पंक्ती अब देशमा गन्न नसकिने रुपमा अघि बढिसकेको बताए ।
उनले आफ्नो पार्टीको विचार भनेकै संसारकै धनी देश बन्ने देशलाई गरिब देश बनाउनेहरूलाई चुनी चुनी कानुनी दायरामा ल्याउनु रहेको बताए । उनले पार्टीलाई दुई तिहाईमा लैजानुपर्ने भएकाले अब खुद्रा कुरामा आफू नबोल्ने उल्लेख गरे । उनले अब आफू सधैँ ठूला कुरामा मात्रै बोल्ने र साना कुरामा बोल्ने समय आफूसँग नरहेको बताए । उनले साना कुराहरूमा पार्टीका अन्य नेताहरू बोल्ने उल्लेख गरे ।
सभापति लामिछानेले जनताले आफ्नो पार्टीबाट चाहेको पहिलो काम भ्रष्टाचार नियन्त्रण रहेकाले आफूहरू त्यो लक्ष्य प्राप्तिका लागि लडिरहने बताए । उनले आफ्नो पार्टीमा संलग्न भ्रष्टाचारीहरूलाई पार्टीबाट निस्कासित गरी उनीहरूले जितेका निर्वाचन क्षेत्रमा निर्वाचन गर्ने व्यवसथ गर्न चुनौती दिए ।