काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र मान्नेहरु स्वार्थी, फटाहा, मुर्ख र अज्ञानी हुने टिप्पणी गरेका छन् । आइतबार पार्टी कार्यालय च्यासलमा अखिल नेपाल किसान महासंघको स्थापना दिवसको आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सो टिप्पणी गरेका हुन् ।
ओलीले स्वार्थी र बिकाउहरुले मात्र राजतन्त्र मान्ने दाबी गरेका छन् । ‘राजतन्त्र भनेको कि फटाहाले मान्छ, स्वार्थी फटाहाले। कि मुर्खले मान्छ । कोही कोही अज्ञानीले पनि मान्छ । एकथरी अज्ञानी हुन्छन् केही पनि बुझ्दैनन् त्यही भएर मान्छन्,’ ओलीले भने, ‘अर्कोथरी स्वार्थ साधना गर्नका लागि मान्छन्। दलालहरुले मान्छन् । बुद्धि नभएकाहरुले मान्छन्। जन्मिदै यस्तो हुनुपर्छ भनेर । अब स्वार्थी तथा बिकाउ मालहरुले मान्छन् ।’
स्वार्थी तत्वहरुले अपराधीकरणका लागि राजतन्त्र मान्ने उनको तर्क छ । ‘तीनले एकछिनका लागि, एक हप्ताका लागि जतिका लागि पनि किन्न सक्छ मान्छेले । त्यस्ता तत्वहरुले मान्छन्’ ओलीले भने ।