काठमाडाैं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) फुटेको छ । उक्त पार्टीका अध्यक्ष महिन्द्र राय यादव समूहले पार्टी फुटाएर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रसँग एकता गर्ने चार बुँदे सहमति गरेको हो । आज माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबिचमा पार्टी एकता गर्ने चार बुँदे सहमति भएको हो ।
माओवादी केन्द्रका तर्फबाट प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवबीचच पार्टी एकता गर्ने चार बुँदे सहमति भएको छ ।
सहमति पत्रमा माओवादीका तर्फबाट महासचिव देवप्रसाद गुरुङ र समाजवादीबाट पनि महासचिव रमेशप्रसाद यादवले हस्ताक्षर गरेका छन् । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी विभाजित बनेपछि यादवको समूह माओवादी केन्द्रसँग समाहित भएको हो ।
सहमतिमा एकीकृत पार्टीको नयाँ नाम आगामी महाधिवेशनमा टुङ्गो लगाउने निर्णय सँगै पार्टी एकताका लागि वैचारिक एकरूपता र सङ्गठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ ।
यी हुन् दुई पार्टीका बीचमा भएको पार्टी एकता गर्ने चार बुँदे सहमति
आज मिति २०८० साल चैत्र ३ गते शनिबारका दिन नेपाल कम्युनिस्ट पार्टी (माआवादी केन्द्र) र नेपाल समाजवादी पार्टी केन्द्रीय समितिको एकता संयोजन समितिको सम्माननीय प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष कमरेड पुष्पकमल दाहाल 'प्रचण्ड' को अध्यक्षतामा बसेको बैठकले गरेका निर्णयहरूको जानकारीका लागि यो प्रेस नोट जारी गरिएको छ ।
१. बैठकमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ उपाध्यक्ष क. नारायणकाजी श्रेष्ठ र महासचिव क. देवप्रसाद गुरूङ, नेपाल समाजवादी पार्टीको तर्फबाट अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव सहभागी हुनुहुन्थ्यो ।
२. बैठकले दुवै पार्टीका बीचमा पार्टी एकता गर्ने सहमति गरेको छ ।
३. एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुंगो लगाउने निर्णय गरिएको छ ।
४. पार्टी एकताका लागि वैचारिक एकरूपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ । कार्यदलमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट महासचिव देवप्रसाद गुरूङ र उपमहासचिव जनार्दन शर्मा तथा नेपाल समाजवादी पार्टीका तर्फबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव रहनुभएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google