काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले चुनावमा अन्तर्घात गरेको आरोपमा ५ जना केन्द्रीय सदस्यलाई पार्टीबाट कारबाही गरेको छ । शनिबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले केन्द्रीय सदस्यहरु दीपेन्द्र नेम्बाङ, देउकुमार नेम्बाङ, महेन्द्र चौधरी, मनोरञ्जन गोइत र धर्मेन्द्र मरवैतालाई पार्टी सदस्यबाट निष्कासन गरेको हो ।
बैठकले पार्टीको विधान मस्यौदा अनुमोदन गरेको छ । उक्त अनुमोदित विधानको मस्यौदा भोलिदेखि सुरु हुने विधान अधिवेशनमा प्रस्तुत हुने पार्टी प्रचार विभागले जनाएको छ ।
त्यस्तै, शनिबार दिउँसो बसेको बैठकले सशस्त्र जनयुद्ध, जनआन्दोलन र मधेस जनविद्रोह जस्ता राजनीतिक संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षार्थ गठीत पार्टी सम्बद्ध समाजवादी मोर्चालाई पार्टीको केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको छ ।