काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन-२ मा महिलाका लागि नि:शुल्क ब्लु बस चलाएर सस्तो राजनीति गर्न खोजेको बताएका छन् । बिहीबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै पोखरेलले यो कुराले हामी कता जान खोज्दैछौं भन्ने प्रश्न उब्जिएको उल्लेख गरेका छन् ।
‘दुनियाँका धेरै मुलुकहरूमा महिलाहरू बन्द समाजमा जकडिएको बेलामा नेपाली समाजमा अपवादबाहेक महिलाहरू सुरूदेखि नै तुलनात्मक हिसाबले स्वतन्त्र थिए। उत्पादनको काममा परिवारका सदस्यहरूसँग मिलेर एकसाथ काम गर्दथे । जबकी अहिले युवाहरूको ठूलो संख्या रोजगारीका शिलशिलामा विदेशिएका बेला ठूलो संख्यामा महिलाहरू परिवारको मुलीको रूपमा भूमिका निर्वाह गरिरहेका छन्,’ उनले लेखेका छन्, ‘यस्तो अवस्थामा आफूलाई नयाँ शक्ति भन्नेहरूले कस्तो समाजको परिकल्पना गरेर महिलाका लागिमात्र भनेर सार्वजनिक यातायात सञ्चालन गर्न खोजेको होलान् ? जिज्ञासा उठ्नु स्वाभाविक हो ।’
नेपाली समाजमा यतिबेला रूपान्तरणकारी सोच र कार्यक्रमको आवश्यकता र चितवन महिला जागरण र जागृतिको थलो भएको उनले उल्लेख गरेका छन् । ‘पञ्चायतकालमा म विद्यार्थी राजनीतिका शिलशिलामा पहिलो पटक चितवन पुग्दा महिलाहरूले ठूलो संख्यामा साइकल चलाएर स्कुल कलेज आएको देख्दा पुरूष र महिलाको बीचको सामाजिक विभेद अन्त्य गर्न सकिन्छ भन्ने विश्वासको आधार बलियो बनाउने मौका पाएको थिए,’ उनले लेखेका छन्,‘तर आज त्यही चितवनमा नयाँ भनिने पार्टीले महिलाका लागि मात्र भनेर सार्वजनिक यातायातको सुरूवात गरेको समाचार सुन्दा हामी कता जान खोज्दैछौं भन्ने प्रश्न जागृत भएको छ ।’
नयाँ र वैकल्पिक शक्ति बनाउँछौं भन्नेहरूले गर्न खोजेको काममा रूपान्तरणकारी सोच र योजना देखिनु पर्ने पोखरेलले बताएका छन् । ‘तर स्वतन्त्र पार्टीका अध्यक्षको अहिलेको कामले भोटको सस्तो राजनीति गर्न खोजेको देखियो। यस्तो कुरामा गम्भीर बनौं,’ उनले लेखेका छन्,‘चितवनजस्तो सचेत ठाउँवाट नेपाली समाजको भविष्यको सकारात्मक चित्र कोर्ने र सन्देश दिने प्रयास गरौं ।’
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google