
काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाले भेटवार्ता गरेका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–एडीबी विकास साझेदारी, नेपालको विकास प्राथमिकता तथा आगामी सहकार्यका विषयमा छलफल भएको हो।
प्रधानमन्त्री कार्यालयका अनुसार भेटमा नेपालको आर्थिक तथा पूर्वाधार विकासमा एडीबीले पुर्याउँदै आएको सहयोग, आगामी लगानीका क्षेत्र र विकास साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान भएको थियो।
जेनजी आन्दोलनपछि बालेन शाह प्रधानमन्त्री नियुक्त भएपछि एडीबी अध्यक्ष कान्दाले सामाजिक सञ्जाल एक्समार्फत नेपालका विकास प्राथमिकतामा एडीबीले निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरेका थिए। नेपाल भ्रमणका क्रममा उनले उच्च राजनीतिक नेतृत्वसँग भेटघाट गर्दै विकास साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल गरिरहेका छन्।
यसैबीच, कान्दाको नेपाल भ्रमणकै क्रममा नेपाल सरकार र एडीबीबीच १६ करोड ५० लाख अमेरिकी डलर (करिब २५ अर्ब रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ। दुई विकास आयोजनामा लगानी गर्ने उद्देश्यले उक्त ऋण उपलब्ध गराउने सम्बन्धी सम्झौतामा सोमबार अर्थ मन्त्रालयमा हस्ताक्षर भएको थियो।
सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थसचिव डा. घनश्याम उपाध्याय र एडीबीका नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आर्नो कुश्वाले हस्ताक्षर गरेका थिए। हस्ताक्षर कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एडीबी अध्यक्ष मासातो कान्दा उपस्थित थिए।
एडीबी नेपालको प्रमुख बहुपक्षीय विकास साझेदारमध्ये एक हो। ऊर्जा, सडक, खानेपानी, शहरी पूर्वाधार, कृषि, शिक्षा तथा सार्वजनिक सेवा सुधारलगायत क्षेत्रमा एडीबीले लामो समयदेखि वित्तीय तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)















































































































































































































































































































































.jpg)






































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google