काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले संसद्मा पेस गर्न बाँकी मिडिया विधेयकलाई तत्काल अगाडि बढाउने कार्ययोजनासहित अघि बढेको बताएकी छन् । आज प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले संसद्मा पेस गर्न बाँकी मिडिया विधेयकहरूलाई सरकारले तत्काल अगाडि बढाउने कार्ययोजनामा रहेको बताइन् ।
उनले त्यसको लागि तत्काल सरोकारवाला निकायहरूले आवश्यक सल्लाह सुझावहरू मन्त्रालयलाई दिन पनि आग्रह गरिन् । उनले आमसञ्चार क्षेत्रका लागि बनेका कानुनहरू अधिकांश पुराना भएकाले वर्तमान अवस्थाका आधारमा परिमार्जन गर्न आवश्यक रहेको र सरकार सकारात्मक रहेको बताइन् ।
मन्त्री शर्माले आमसञ्चार क्षेत्रलाई आवश्यक ऐन, कानुन बनाउँदा सरोकारवाला निकायहरूसँग सहकार्य गरेर अगाडि बढ्न सरकार तयार रहेको बताइन् । उनले आमसञ्चार क्षेत्रको विकास, समृद्धि र सवलिकरण हुनु भनेको राज्यको सवलिकरण हुनु सरह रहेको बताइन् ।
उनले देशको राजनीतिक परिवर्तन र पत्रकारिता अभिन्न अंगका रूपमा जोडिएको भन्दै राजनीति र पत्रकारिता सहकार्यले मात्रै मुलुकमा ठूला–ठूला राजनीतिक परिवर्तन सम्भव भएको धारणा राखिन् ।
उनले मिडिया सकारात्मक हुँदामात्रै परिवर्तन सम्भव रहेको भन्दै मिडिया र सरकार सकारात्मक रूपमा जोडिएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताइन् । उनले नकारात्मक विषयमा आलोचना गर्दा कसैलाई बेफाइदा नहुने बताइन् ।