काठमाडाैं । केन्द्रले स्पष्टीकरण सोधेपछि चितवन जिल्ला संयोजक धर्मेन्द्र सापकोटाले राजीनामा दिएकाे राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जनाएकाे छ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले एक विज्ञप्ति सार्वजनिक गर्दै यस्ताे बताएकाे हाे । गत पुस १७ गते सापकोटासँग निर्वाचनको समयमा निष्क्रिय रहेको, पार्टीलाई जानकारी नगराई सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिएको, अनुमति नलिई जुम बैठक गरेको, स्थानीय सरोकारका विषयहरू पार्टी केन्द्रलाई जानकारी नदिएकोलगायत विषयमा स्पष्टीकरण सोधेको विज्ञप्तिमार्फत प्रवक्ता तथा महामन्त्री डा. मुकुल ढकालले स्पष्ट पारे ।
यस्ताे छ, विज्ञप्ति
मितिः २०७९।१०।१९
विज्ञप्ती
राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन जिल्ला समितिका सभापति रहनुभएका धर्मेन्द्र सापकोटाले पार्टी पंक्ति तथा नेपाली जनतामाझ पार्टीका सम्बन्धमा भ्रम छर्ने किसिमले सञ्चारमाध्यममा दिनुभएको अभिव्यक्तिप्रति पार्टीको ध्यानाकर्षण भई सत्य तथ्य व्यहोरा सरोकारवाला सबैमा अवगत गराउन यो विज्ञप्ती जारी गरिएको छ ।
सापकोटाले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ का बखत निर्वाह गर्नुपर्ने जिम्मेवारी निर्वाह नगरी पार्टीको हित विपरित अनावश्यक अन्तर्वार्ता दिंदै हिंड्नुभयो, जसका कारणले चितवन क्षेत्र नं. ३ को मत परिणाम समेतमा नकारात्मक प्रभाव पारेको थियो । साथै उहाँ चुनावी अभियानमा संलग्न हुनुभएन भने पार्टी कार्यालय नगई चुपचाप बसीे असहयोग समेत गर्नुभएको थियोे । उहाँले निर्वाचन पश्चात् पनि आफ्नो क्षेत्रका स्थानीय मुद्दाहरु तथा संगठनलाई बलियो बनाउन तर्फ ध्यान दिन वेवास्ता गरी पार्टीको विधान बमोजिमका हैसियतभन्दा बाहिरका गतिविधिको नेतृत्व समेत गरेकाले मिति २०७९।०९।१७ गते स्पष्टिकरण सोधिनुका साथै यस विषयमा आवश्यक छानबिन, अनुसन्धान तथा अन्तिम निक्र्यौल नभएसम्म पदीय हैसियतले कुनै पनि गतिविधि, कार्यमा संलग्न नहुन समेत निर्देशन दिइएको थियो ।
मिति २०७९।०९।२० गते सापकोटाले पार्टी कार्यालयमा नै आई आफ्नो स्पष्टिकरण पेश गर्नुभएकोे थियो र उहँले पेश गर्नुभएको स्पष्टिकरणका विषयमा पार्टीले निर्णय गर्नु अगावै मिति २०७९।०९।२७ गते उहाँले पार्टीबाट राजीनामा दिनुभयो जसलाई केन्द्रीय समितिको मिति २०७९।१०।०८ को बैठकले सदर गरेको थियो ।
अतः सापकोटाले सञ्चारमाध्यममा अन्तर्वार्तामा दिएको सूचना असत्य तथा भ्रमपूर्ण रहेको जानकारी गराउँदछौ ।
डा. मुकुल ढकाल
प्रवक्ता तथा महामन्त्री