काठमाडौं । जनयुद्ध दिवसका अवसरमा सोमबार सरकारले दिएको सार्वजनिक बिदाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीले असन्तुष्टि जनाएको छ । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले फागुन १ गते अर्थात भोलि जनयुद्ध दिवसका अवसरमा सार्वजिनक बिदा दिने निर्णय गरेको थियो ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले कुनै राजनीतिक दलको अगुवाइमा भएको हिंसात्मक द्वन्द्वलाई उत्सवको रुपमा मनाउनु दुर्भाग्य र विडम्बनापूर्ण भएको प्रतिक्रिया दिएका छन् । विसं २०५२ फागुन १ गते तत्कालीन नेकपा माओवादीले पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा जनयुद्ध सुरु गरेको थियो ।
बिदाको विषयमा आइतबार बिहान बसेको राजनीतिक संयन्त्रको बैठकमा पनि कुराकानी भएको थिएन । सरकारलाई समर्थन गरेसँगै राप्रपाले सरकारसँग पुस २७ गते पृथ्वी जयन्तीमा बिदा दिन माग गरेको थियो । पुस २७ गते एकता दिवसका रुपमा सरकारले सार्वजनिक बिदा दिएको थियो ।