काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति फाटोवादी पार्टी बनाएर एकीकृत नाम राखेको भन्दै व्यंग्य गरेका छन् ।
पार्टीको मिसन ग्रासरुट कार्यक्रमअन्तर्गत सोमबार गुल्मी आयोजित कार्यक्रममा उनले भने, ‘पार्टीचाहिँ फाटोवादी, पुँजीवादीको पुच्छर लाग्या छ, नामचाहिँ समाजवादी । नामले हुँदो रै'छ । यिनीहरू नामलाई ढाक्नका लागि फाटोवाद ढाक्नका लागि एकीकृत, पुँजीवादी बाटो समातेँ भन्न लाज मानेर, हुन त माधव नेपाल लजाउने मान्छे होइन, तर पनि एकीकृत समाजवादी नाम राखेका छन् ।’
सम्बोधनका क्रममा ओली नेपाली कांग्रेसमाथि पनि खनिए । उनले कांग्रेस इमानदार पार्टी होइन भन्ने आफूले सानैदेखि थाहा पाएको बताए । उनले २०७२ मा संविधान पाउँदा एमालेलाई सरकारको नेतृत्व दिने सहमति भए पनि सुशील कोइरालाले नमानेको बताए । उनले भने, ‘उनी हाम्राविरुद्ध विदेशीको उम्मेदवार बने ।’