नेपालका हिमालहरू नाङ्गिएकोप्रति देउवाद्वारा चिन्ता व्यक्त

दर्पण दैनिक ५ फाल्गुन २०८१,१३:४९
post

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका कारण नेपालका हिमालहरू नाङ्गिएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।  सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा गैरसरकारी संस्थासम्बन्धी कांग्रेसको नीति विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले हिमालको हिउँ पग्लिएर हिमाल नांगो भएकोप्रति गुनासो गरेका हुन् । 

उनले जलवायु परिवर्तनले नांगो भएका हिमालहरू कसरी जोगाउने भन्नेबारेमा गैरसकारी संस्थाहरूले नीतिगत पैरवीदेखि हिमाल जोगाउने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले जलवायु परिवर्तनको समस्या नेपालमा दिनप्रतिदित बढ्दै गएको बताए  


‘वास्तवमा नेपालमा सामाजिक सेवा गर्ने संस्था तथा नागरिक समाजको स्थापना, विकास र कामको अवस्था र स्वरुप फरक फरक देखिन्छ । गैरसकारी संस्थाहरूप्रतिको समय र सन्दर्भसँगै सामाजिक न्याय, लोकतन्त्र र मानव अधिकार, सुशासन, आर्थिक समृद्धि र समावेशी सिद्धान्तमा आधारित अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई अंगीकार गरी सरकारको सहयोगीको रुपमा काम गर्ने संस्थाहरू हुन्,' उनले भने, 'यी संघसंस्थाहरू भित्र पनि सुशासन, पारदर्शीता र आन्तरिक लोकतन्त्र मजबुत हुनुपर्छ भन्ने आवाज छ । हाम्रा हिमालहरू नाङ्गिरहेका छन् । गैरसरकारी संस्थाहरूले हिमाल कसरी जोगाउने भन्ने विषयमा सामुदायिक सचेतनादेखि नीतिगत पैरवी गर्न आवश्यक छ । अहिले क्लाइमेट चेन्जले पनि धेरै समस्या पारेको छ । यस सम्बन्धी धेरै ध्यान दिने विश्वास लिएको छु ।’

सभापति देउवाले नेपालको सामाजिक विकासमा गैरसकारी संस्थाहरूले खेलेको भूमिका प्रशंसनीय रहेको बताए । मानव अधिकार, सुशासन, समावेशीलगायतका विषयमा गैरसकारी संस्थाहरूले प्रभावकारी काम गर्दै आएको उनको भनाइ छ । 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: