काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख १० गते हुने उपनिर्वाचनका लागि एजेन्डामा आधारित भई बहस गर्नुपर्ने बताएका छन् । उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेन्डामा आधारित बहस गर्न उनले आग्रह गरेका हुन् ।
‘उपनिर्वाचमा भाग लिने उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुँदैछ । धेरैजसो उम्मेद्वारहरूमा नयाँ र युवा अनुहार देखिरहेको छु, यो खुसीको कुरा हो,’ फेसबुकमा आज लेख्दै उनले उल्लेख गरेका छन्, ‘उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्न म आग्रह गर्दछु ।’
उनले गत मंसिरको आमचुनावका बेला पनि आफूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई एजेन्डामा आधारित बहसका लागि आउन आह्वान गरेको उल्लेख गरेका छन् । तर सभापति देउवा बहसका लागि तयार नहुँदा आफ्नो प्रयास सफल हुन नपाएको अध्यक्ष ओलीको भनाइ छ ।
‘अब हामीले राजनीतिलाई सही बाटोमा लैजान एजेण्डा केन्द्रित बनाउनै पर्छ। चुनावी मैदानमा उत्रिनु भएका सबै उम्मेदवारलाई शुभकामना,’ उनले भनेका छन् । वैशाख १० मा तनहुँ १, चितवन २ र बारा २ मा उपनिर्वाचन हुँदैछ ।