काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झाले सरकारले सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रममा प्रधानमन्त्रीले रातारात आफ्ना प्राथमिकताहरू फेरबदल गरेको भन्दै प्रश्न उठाएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद झाले प्रधानमन्त्री पुष्पकमल दाहालले दुई महिनाअघि सहमति जनाएर नीति तथा कार्यक्रममा समावेश भएका विषय अहिले हटाइएको भन्दै त्यस्तो अवस्था हुनुको कारण सार्वजनिक गर्न माग गरे ।
‘प्रधानमन्त्रीज्यूले नीति तथा कार्यक्रमलाई राष्ट्रिय सहमतिको दस्तावेज नै भन्नुभएको सुनियो । हुन त त्यसमा हाम्रो प्रतिबद्धतापत्रमा उल्लेख विषयहरू पनि समेटिएका छन् । तर, फेरि पनि पहिलेको भन्दा केही फेरबदल पाएको छु,’ उनले भने, ‘तर पहिले राखिएका कतिपय राम्रा प्रयासहरूलाई यसपटक किन हटाइएको हो ? त्यस्तो अवस्था किन आयो ?’
उनले सरकारले दुई महिनाअघि ल्याएको नीति तथा कार्यक्रममा समेटिएको बलात्कारसम्बन्धी मुद्दामा द्रूत गतिमा छिनोफानो गर्ने भन्ने व्यवस्था हटाइएको भन्दै आपत्ति जनाए ।
‘बलात्कारसम्बन्धी मुद्दामा द्रूत गतिबाट छिनोफानो गर्ने व्यवस्था गरेको थियो । अहिले हटाइएको छ । दुई महिनाअघि स्वीकार भएको यो व्यवस्था अहिले किन भएन ?,’ उनले अघि भने, ‘भ्रष्टाचारमा अख्तियार जोडिएका विषयहरूमा छानबिन गरी कानुनी कारबाही अघि बढाउने भन्ने कुरा पहिले थियो, अहिले छैन । रातारात भ्रष्टाचारीसँग मिलेमतो भएको हो वा अन्य केही कारण हो ?’
उनले पहिलेको नीति तथा कार्यक्रममा एक वर्षभित्र राष्ट्रिय परिचयपत्र दिइसक्ने उल्लेख भएकोमा यसपटक त्यसलाई हटाइएको बताए ।