काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा ललितपुर- ३ की प्रतिनिधि सभा सदस्य तोसिमा कार्कीले पार्टी सभापति रवि लामिछानेलाई ढाडस दिएकी छिन् । सामाजिक सञ्जालमार्फत् कार्कीले लामिछानेलाई विचलित नहुन भन्दै ढाडसपूर्ण सन्देश दिएकी छन् ।
'कत्ति पनि विचलित नहुनुहोस् सभापतिज्यू, हामी साथमा छौँ । हामीसँग जनता साथमा छन्। जनतासँग गरेको एक-एक बाचा भुलेका छैनौँ । भुल्ने छैनौँ', उनले भनेकी छन् ।
लोकतन्त्रमा सबैभन्दा शक्तिशाली जनता हुने भन्दै उनले सत्य, साहस, निष्ठा र ईमानको न्याय एवम् सुरक्षा गर्ने जिम्मा पनि जनताकै भएको बताएकी छिन् । 'हामी जहाँ उभिन्छौँ जनताको मुद्दाको वकालत त्यहीँबाट गर्छौँ र गरिरहन्छौँ । लोकतन्त्रमा सबैभन्दा शक्तिशाली जनता हुन् । त्यसैले सत्य, साहस, निष्ठा र ईमानको न्याय एवम् सुरक्षा गर्ने जिम्मा पनि खुद जनतालाई नै सुम्पेका छौँ', उनले भनिन् ।