काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बधाई दिएका छन् । हालै सम्पन्न उपनिर्वाचनबाट लामिछाने पुनः सांसद बनेकामा प्रधानमन्त्रीले बधाई दिएका हुन् । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका रविलाई प्रधानमन्त्रीले बधाई दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
उपनिर्वाचनमा चितवन २ बाट भारी मतान्तरले विजयी भएका रविलाई प्रधानमन्त्रीले बधाई ज्ञापन गरेका छन् । यही वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ मा रवि फराकिलो मतसहित विजयी भएका थिए ।
लामिछाने ५४ हजार १७५ मतसहित विजयी भएका हुन् । दोस्रोमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार ११४ मत पाएका थिए । गत मंसिर ४ गते रवि सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। तर गरिकता मुद्दामा दोषी ठहर भएपछि रविको सांसद पद गत माघ १३ गते गुमेको थियो । त्यहीकारण चितवन २ मा यही वैशाख १० गते उपनिर्वाचन गरिएको हो ।