काठमाडौं । नेकपा एकीकृत समाजवादीले घनश्याम भुसाललाई महासचिव बनाएको छ । आज पार्टी केन्द्रीय कार्यालयमा बसेको ५३ औं सचिवालय बैठकले भुसाललाई महासचिव बनाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
यस्तै महासचिव रहेका बेदुराम भुसाललाई उपाध्यक्ष बनाउने निर्णय भएको छ ।
‘पार्टीको आजसम्म महासचिव पदमा कार्यरत बेदुराम भुसाललाई उपाध्यक्षमा मनोनयन गरिएको छ । रिक्त महासचिव पदमा घनश्याम भुसाललाई मनोनयन गरिएको छ,’ उनले भने, ‘सर्वसम्मत रूपमा यो निर्णय गरिएको हो ।’
साथै बैठकले पार्टीका चारै जना उपाध्यक्षलाई केन्द्रीय सचिवालय सदस्य मनोनीत गरेको छ ।
‘पार्टीका सबै उपाध्यक्ष अब केन्द्रीय सचिवालयमा रहनुहुन्छ । सचिवालय सदस्य संख्या १९ पुगेको छ,’ उनले भने ।
भुसाल गत पुस २९ गते नेकपा एकीकृत समाजवादीमा आवद्ध भएका थिए ।
भुसाल एमाले छाडेर गत मंसिर ४ को चुनावमा रूपन्देही १ मा स्वतन्त्र उम्मेदवार उठेका थिए। उनी पराजित भएका थिए ।
भुसाल २०७१ मा सम्पन्न एमालेको नवौं महाधिवशेनबाट उपमहासचिव बनेका थिए ।
साथै २०७८ मंसिरमा भएको दसौं महाधिवेशनमा उपाध्यक्ष पराजित भएका थिए ।