काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको उम्मेदवार बन्न राखेको ७० वर्षे उमेर हद हटाएको छ। वैशाख २८ देखि ३० सम्म बसेको केन्द्रीय कमिटी बैठक र जेठ १९ गते बसेको सचिवालय बैठकले उमेर हद हटाउने निर्णय लिएको हो ।
पार्टी विधानमा रहेको केन्द्रीय कमिटीको ७० वर्षको उमेर हद हाललाई निलम्बन गर्ने एमालेकाे अन्तर पार्टी निर्देशनमा उल्लेख छ । नेकपा एकीकृत समाजवादीबाट फर्किएका नेता मुकुन्द न्यौपानेलाई केन्द्रीय सदस्य बनाउन विधानमा भएको प्रावधानमा बाधा फुकाइएको बताइएको छ ।
एमालेले काठमाडौंमा भएको नवौ महाधिवेशनदेखि केन्द्रीय कमिटीको चुनाव लड्न ७० वर्ष नपुगेको हुनुपर्ने प्रावधान विधानमै राखेको थियो । २०७८ मंसिरमा चितवनमा भएको दसौँ महाधिवेशनमा पनि उमेर हद राखिएको थियो ।