तनहुँ । नेकपा एमालेको तनहुँ जिल्ला अध्यक्षमा हरिराज कँडेल निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी विष्णुभक्त सिग्देललाई ८८ मतान्तरले हराउँदै उनी निर्वाचित भएका हुन् । मंगलबार सकिएको मतगणनामा कँडेलले २ सय ९२ ल्याउँदा सिग्देलले २ सय ४ मत पाएका थिए । उपाध्यक्षमा राजेश्वर ढकालले २ सय ७९ मत पाएर विजयी भए भने श्रीराम कार्कीले २ सय १४ मत प्राप्त गरे ।
सचिवमा प्रदीपराज अधिकारी विजयी हुँदा अनिल पाण्डे पराजित भए । खुल्ला उपसचिवमा आरके पोखरेललाई हराउँदै खिमबहादुर कुमाल विजयी भए । त्यस्तै, महिला उपसचिवमा सुनिता नेपाली विजयी हुँदा बसुन्धरा घर्ती पराजित भइन् । विजयी सबै अधिकारी प्यानलकै हुन् । ५ सय ८५ प्रतिनिधि रहेको अधिवेशनमा ५ सय ६० मत खसेको थियो ।