सोलुखुम्बु । लिखुपिके गाउँपालिका वडा नं ५ पातालमा एक घर जलेर नष्ट भएको छ । गत बिहिबार आगलागी हुँदा शन्तबहादुर थामीको घर जलेर नष्ट भएको हो । पीडित शन्तबहादुर थामीले नगद बीस हजारसहित लत्ताकपडा, अन्न, आलु, काठपात, भाडाँकुडाँ गरेर लगभग चारलाख बराबरको क्षति भएको बताए । त्यस्तै आफुले आङमा लगाएको बाहेक छोराछोरीको कापी, किताब, विद्यालयको पोसाक सबै जलेर नष्ट भएको बताए ।
बिहान दाउरा सेकाइएको अवस्थामा सल्केर आगलागी भएको वडा अध्यक्ष ङिमाछिरी लामाले जानकारी दिए । त्यस्तै अध्यक्ष लामाले तत्कालका लागि भाडावर्तन तथा लत्ताकपडा दिएर सहयोग गरेको जानकारी दिदै पीडित परिवारलाई एकद्वार प्रणालीअनुसार राहत प्रदान गर्ने बताए ।
गाउँपालिकाले बासको लागि राहतस्वरूप दुइथान त्रिपाल सहयोग गरेको उपाध्यक्ष ङवाङल्हाक्पा शेर्पाले दर्पण दैनिकलाई जानकारी दिए । त्यस्तै उपाध्यक्ष शेर्पाले आफ्नो व्यक्तिगत तर्फबाट चामाल,नुन, तेल चिया लगायतका खाद्य सामाग्री पीडित परिवारलाई सहयोग गरेको बताए । उपाध्यक्ष शेर्पाले जति क्षेति भएको हो त्यति राहत उपलब्ध गराउन नसकिने बताउँदै उनले पालिकाको बैठक बसेर विपद व्यवस्थापन कोषबाट आवश्यक सहयोग गर्ने बताए ।