काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीकी प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्रचार्यको बिदाइ गरिएको छ । एआईजीको ५६ वर्षे उमेर हदका कारण मंगलबारदेखि अनिवार्य अवकास हुन लागेकी बज्राचार्यको सोमबार काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आयोजित बिशेष समारोहबीच बिदाइ गरिएको हो ।
बज्राचार्य गत साउन २२ गते काठमाडौँ उपत्यका प्रहरी कार्याशलय प्रमुखमा सरुवा भएकी थिइन्। यसअघि एसपी हुँदा भक्तपुर र एसएसपीमा ललितपुरको प्रहरी प्रमुख भइसकेकी बज्राचार्य काठमाडौँ उपत्यका प्रमुख बन्ने पहिलो महिला एआईजी हुन् ।
बज्राचार्य २०५१ साल चैत ५ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेकी हुन् । एआईजीसम्मै आफ्नो ब्याचबाट पहिलो लटमै उनी बढुवा हुँदै आएकी थिइन् । त्यससँगै उनी ५६ वर्षे उमेर हदका कारण ३० वर्षे सेवा अवधि पूरा नहुँदै अवकास भएकी हुन् । आगामी चैत ५ गते मात्रै उनको ३० वर्षे सेवा अवधि पूरा हुन्छ।
सोमबार बिदाई समारोहलाई सम्बोधन गर्दै एआईजी बज्राचार्यले राष्ट्र र नागरिकको सेवाको खातिर नेपाल प्रहरी संगठनले सुम्पेको जिम्मेवारी व्यवसायिक रूपमा सक्षमताका साथ निर्वाह गर्न सहयोग गर्ने आफू मातहतका सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई धन्यवाद दिइन् ।
आम नागरिकलाई न्याय र सुरक्षाको अनुभूति दिन संगठनको हकहितका लागि केन्द्रित भई आफूले काम गरेको बज्राचार्यले बताइन् । बज्राचार्यले हरेक सेवा निबृत्त प्रहरी कर्मचारीले समेत नेपाल प्रहरी संगठनलाई सहयोग गर्नुपर्नेमा जोड दिँदै आगामी दिनमा पनि संगठनको श्रीवृद्धिका लागि रचनात्मक सहयोग गर्न आफू तयार रहेको बताइन् ।
प्रहरी नायव महानिरीक्षक (डीआईजी) ध्रुबराज राउतले एआईजी बज्राचार्य सेवा अवधि भर कुशल प्रशासक तथा सक्षम नेतृत्वकर्ता भएको बताउँदै प्रहरी सेवालाई अझै प्रभावकारी तथा नगारिकमैत्री बनाउनका लागि उनीबाट सल्लाह, सुझाव र निर्देशन निरन्तर प्राप्त हुने विश्वास व्यक्त गरे ।
बज्राचार्यलाई डीआईजी राउतसहित मातहतका कार्यालय प्रमुखले मायाको चिनो प्रदान गरेका थिए । बज्राचार्यको अवकाससँगै काठमाडौँ उपत्यका प्रहरी प्रमुखबिहिन भएको छ । एआईजी सरुवाको निर्णय मन्त्रिपरिषद् बैठकले गर्नपर्छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google