काठमाडौं । पशुपति क्षेत्र विकास कोषले नवनियुक्त भट्ट (पुजारी) विनय अडिगालाई बुधबार पशुपतिनाथको मूल मन्दिरमा प्रवेश गराएको छ । विधिवत् रुपमा पशुपतिनाथ मन्दिर प्रवेश गरेका भट्ट अडिगालाई मूल भट्ट गणेश भट्टले पाशुपत दीक्षा प्रदान गरेका थिए ।
अडिगाले भण्डारेश्वर–ताम्रेश्वर–खञ्जनेश्वर–कृष्णेश्वर–शङ्कराचार्यमठ–झम्केश्वर–पशुपतिस्थित चाँगुनारायण–आगमघर–रुद्रगारेश्वर–वासुकीनाथको मन्दिर हुँदै पशुपति मूलमन्दिरस्थितबूढानीलकण्ठ–आर्यघाट–भद्रेश्वर–चतुःषष्टि लिङ्गबाट मूलभट्ट निवास–कुमारीस्थान–कीर्तिमुखभैरव–उन्मत्तभैरव आदि देवीदेवताको दर्शन एवं पूजा आराधना गर्दै पशुपतिनाथ मूल मन्दिर प्रवेश गरेका हुन् ।
उनलाई मूलभट्टले पाशुपत दीक्षासहित मन्दिर प्रवेश गराएका थिए । नियुक्तिपछि अडिगा पाँच दिनसम्म पहिले बम्बै ढुकुटी घर भएको स्थान (हाल श्रीकृष्ण मन्दिर)सँगै गुप्तवास बसेका थिए ।
दक्षिण भारतको त्रिलिङ्गी ब्राह्मण परिवारका अडिगा पशुपतिनाथको दक्षिण मुहारको पुजारीका रुपमा नियुक्त भएका हुुन् । यस मुहारका पुजारी रमाकारान्त भट्टले करिब चार महिनाअघि स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएका थिए । राजीनामा दिएको चार महिनामा अडिगालाई दक्षिण मुहारको पुजारीका रुपमा नियुक्त गरिएको हो ।