
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो राजनीतिक अवस्थाप्रति कडा टिप्पणी गरेका छन् । धनगढीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रश्न गरेका छन्, 'सोझा साझा जनतालाई मुर्ख भन्दै तिनलाई झुक्याउँदै आफ्नो स्वार्थसिद्ध गर्ने आजको प्रपञ्च अब खुल्दै आएको छ ।'
उनले नयाँ नेपालप्रति पनि कटाक्ष गरेका छन् । 'के नयाँ नेपाल भनेको यही हो ?,' उनको प्रश्न छ, 'के अग्रगामी भनेको परावलम्बी नेपाल हो ? के नेपालको आफ्नो अस्तित्व छैन ? हामी वीर परिश्रमी र स्वाभिमानी नेपाली तर आज हाम्रो वीरता र हाम्रो स्वाभिमान हाम्रो श्रम सीप सबैथोक खोसिएको त छैन ?'
श्री ५ महाराजाधिराज ज्ञानेन्दवीर विक्रम शाहदेवबाट
धनगढीमा बक्सेको सम्बोधन
उपस्थित महिला तथा सज्जनवृन्द,
तपाईहरुले आयोजन गर्नु भएको यो समारोह आफैमा एउटा संयोजनकारी महत्वपूर्ण काम हो । यहाँ आएर मलाई दुईचार शब्दबोल्ने मौका दिनु भएकोमा आयोजकहरु र उपस्थित सुदूरपश्चिमी भेगका सबैमा हार्दिक आभार व्यक्त गर्दछु ।
धनगढी नेपालको सुदूरपश्चिमी भूखण्डको पुरानो चहल पहलको स्थान हो । यो अहिले उद्यम इलम र व्यवसायको शहरी केन्द्र बनेको छ । आफ्नो थाकथलो र जमिन पवित्र मान्ने यस भेगका भुमीपुत्रहरु आज यस क्षेत्रको चौतर्फि विकास चाहन्छन् । त्यसका निम्ति बढ्दै गएको उत्सुकता तथा जागरुकता निश्चय पनि सह्रानीय छ ।
राष्ट्रनिर्माणको अभियान र निरन्तरताको भौतिक, शैक्षिक तथा सामाजिक विकासको क्रममा अब नेपालका कुनै पनि भूभागटाढा र नजिक छैनन् । राष्ट्रिय अवधारणा बुबाज्यूको राज्यकाल देखि नै उत्कर्षका रुपमा अघि बढेको हो । टिकापुर तथा महेन्द्रनगर यस क्षेत्रमा आजजुन रुपमा खडा छन्, त्यो त्यसैको उदाहरण हो । तर जुन प्रकारको राष्ट्रवादी सोच, राष्ट्रिय चिन्तन र सर्वांगिण उन्नतिको उच्च ध्येय बोकेर समग्र राष्ट्रको उत्थानको शुरुवात भएको हो – त्यो त्यही गति र प्रवाहमाअघि बढ्न सकिरहेको छैन । यो हामी सबैका निम्ति सुखद् हाेइन । डोटी ,डडेलधुरा, कैलाली, कञ्चनपुर, वैतडी, दार्चुला, आछाम र बाजुरा यो भेगका सुन्दर ,रमणीय र तिर्थस्थलहरु हुन् – ती सबैलाई समेटेर धनगढी, महेन्द्रनगर, टीकापुर जस्ता आधुनिक चरणमा खडा भएका केन्द्रहरुले जुन प्रकारको ज्योति प्रशारण गर्नुपर्ने हो – त्यो अपेक्षित रुपमा हुन नसकेको कटु सत्य हो ।
हाम्रै आँखाले देखेको र स्वयम् अनुभूत गरेको कुरा हो – चार दशक अघि सम्म हाम्रो देश कृषि, वनआदी कतिपय विषयमा आत्मनिर्भर थियो । आफ्नो आवश्यकतालाई परिपूरण गरेर हामी धान चामल निर्यात गर्दथ्र्यौं । ग्रामीण तथाशहरी कलकारखाना,साना लघु उद्योग धन्दाहरु कता विलाए ? किन हराए ? जल, जमिन, जंगल, जडिबुटी र जनस्तरीय सीप सबैतिर आज उजाडको अवस्था छ । हाम्रा घर आँगन पिंडी र छिंडीमा चल्ने जन शिल्पीका कैयन् कुटीर उद्यम व्यवसायहरु पूरापूर लोप भएर गएका छन । हिजोका हाम्रो अग्रजहरु र हाम्रा पौरखी पुस्ताहरुलाई श्रेय दिएर सम्झना गर्ने कि नगर्ने ? यस्ता थुप्रै प्रश्नहरु तपाई हामी सामु छन् ।
सोझा साझा जनतालाई मुर्ख भन्दै तिनलाई झुक्याउँदै आफ्नो स्वार्थसिद्ध गर्ने आजको प्रपञ्च अब खुल्दै गएको छ । नेपाली जनतालाई आफ्नो भू–भाग र आफ्नो राष्ट्रिय अस्तित्व हुँदाहुँदै शरणार्थी बनाएर अर्काको देशमाश्रम पसिना बगाउन पठाएर आज जे हर्कत गरिरहेका छन, त्यसबाट हाम्रो इज्जत, गौरब सबै लोप भएर गएको छ । देशभित्रै बसौं, देश मै पसिनाबगाउँ र आफ्नो पौरखले आफ्नै देश सपारौं भन्ने भावना हराउँदै गएको छ ।
के नयाँ नेपाल भनेको यंही हो ? के अग्रगामी भनेको पराबलम्बी नेपाल हो ? के नेपालको आफ्नो अस्तित्व छैन ? हामीवीर परिश्रमी र स्वाभिमानी नेपाली तर आज हाम्रो वीरता र हाम्रो स्वाभिमान हाम्रो श्रम सीप सबैथोक खोसिएको त छैन ? यस्तो दारुण दृश्य देख्दा हामी सबैको आँखा रसाउँदै गएको छ । आजको युग विकासको युगहो । आजको युग प्रविधीको युग हो । हामी आफ्नै श्रोत साधन आफ्नै सामथ्र्य र आफ्नै स्वतन्त्र सत्ताद्धारा आफ्नो युगानुकूल उन्नति चाहन्छौं ।
त्यसैले सोच्ने बेला आयो अब कुन के कस्तो राष्ट्रिय दृष्टिकोण हामीले लिने ? कस्तो प्रणाली पद्धति र परिपाटी हामीले अंगाल्ने ? सोचौं गहिरिएर सोचौं, अझदिलै देखि सोचौं, नेपालीभएर सोचौं, नेपाल आमाको हावापानी माटो र मुटुलाई छोएर सोचौं ,देशभन्दा ठूलो अरु केही हुँदैन ।
आजको टड्कारो अवस्थालाई नदेखेको र नबुझेको जस्तो गरेर, कुरा बटारेर ,अरुलाई अल्मल्याएर र निषेध गरेर अनि कोठे र ओठे जवाफ फर्काएर नेपाल र नेपालीको भविश्य सप्रिदैन । भोलीको सुन्दर सपनालाई साकार र विपना बनाउन नेपाली मत,मान्यता तथा मनोभावना अनुसार–नेपाली जनतालाई नै जिम्मा दिउँ– यसैमा हाम्रो कल्याण छ ।
सबैमा एक पल्ट फेरि हाम्रो धन्यवाद
जय नेपाल
धनगढी
मिति २०८० साल ज्येष्ठ ८गते