काठमाडाैं । गृहमन्त्री रवि लामिछाने र गृह सचिव एकनारायण अर्यालको नाम लिएर भिजिट भिसामा मान्छे विदेश पठाउन दबाब भएको आरोपमा गृहकै कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा गृहमा कम्प्युटर अपरेटरका रूपमा कार्यरत निर्मल विष्ट छन् ।
विष्टले ‘गृहमन्त्री लामिछाने, उनको सचिवालय र गृह सचिव अर्याललगायतसँग कुरा भइसकेको छ’ भन्दै असार २१ गते शुक्रबार थाइल्याण्ड हुँदै तेस्रो मुलुक जान लागेका २० जनालाई नरोक्न भनेर त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थीलाई टेलिफोनबाट अनुचित दबाब दिएका थिए ।
प्रमुख अध्यागमन अधिकृत पन्थीले दबाब अस्वीकार गरी मन्त्रालयमा सोधखोज गरेपछि विष्टको कर्तुत सार्वजनिक भएको थियो ।
गृह मन्त्रालयमा रहेर भिजिट भिसामा विदेश पठाउने धन्दामा संलग्न रहेको पाइएपछि गृहसचिव अर्यालले मंगलबार विष्टलाई सेवाबाट हटाएका थिए ।
जागिर गुमेपछि थमौतीका लागि गुहार्न पुगेका विष्टलाई गृहमन्त्रीको निर्देशनपछि प्रहरीले उनलाई मन्त्रालयबाटै नियन्त्रणमा लिएको हो ।
भिजिट भिसामा गैरकान’नी रूपमा मान्छे पठाउने काम गरिरहेको सूचनापछि थप अनुसन्धानका लागि विष्टलाई प्रहरीको जिम्मा लगाइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
विष्टलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको हो । विष्ट २०७५ सालदेखि कम्प्युटर अपरेटरका रुपमा गृह मन्त्रालयमा कार्यरत थिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google