
काठमाडौं । नेपाली शिक्षा परिषद्ले आफ्नो ७४औँ वार्षिकोत्सव तथा गोपाल पाँडे ‘असिम’को जन्मजयन्तीको अवसर पारेर शिक्षाविद् प्रा.डा विद्यानाथ कोइरालालाई ‘त्रिरत्न लेबाल पुरस्कार’ तथा कवि साहित्यकार प्रद्युम्न जोशीलाई ‘गोपाल पाण्डे ‘असिम’ पुरस्कार’ प्रदान गरेको छ । पुरस्कारका साथ क्रमशः एक लाख एक हजार १०१ रुपैयाँ तथा ५० हजार रुपैयाँ नगद राशि समेत प्रदान गरिएको छ ।
परिषद्की अध्यक्ष रमा शर्माले नेपाली साहित्यका विशाल प्रतिभाहरू लेखनाथ पौडेल, बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको नामबाट ‘त्रिरत्न लेबाल पुरस्कार’को स्थापना गरेकी हुन् ।
कार्यक्रममा डा. जयराज आचार्य, प्रा.डा. कोइराला, कवि जोशी, रमेश गौतम, ठाकुर बेलवासे, परिषद्की अध्यक्ष रमा शर्मा, शंकरप्रसाद पाण्डे लगायतले बोलेका थिए ।
उक्त अवसरमा २०८० को एसइइ परीक्षामा दरवार हाइस्कुलबाट नेपाली विषयमा उत्कृष्ट अंक ल्याउने मन्दीप श्रेष्ठलाई पाँच हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google