काठमाडाैं । नेपालबाट युरोपेली मुलुक जर्मनीमा श्रमिक पठाउने वैधानिक बाटोको सुरुवात भएको छ । श्रममन्त्री शरतसिंह भण्डारी नेतृत्वको प्रतिनिधिमण्डलको जर्मनी भ्रमणका अवसरमा नेपाल र जर्मनीबीच श्रमिक पठाउने विषयमा एक आशयपत्रमा हस्ताक्षर भएको छ ।
नेपालबाट दक्ष श्रमिक पठाउने विषयमा मंगलबार नेपाल र जर्मनीबीच डिक्लेरेसन अफ इन्टेन्ट (जेडीओआई) मा हस्ताक्षर भएको बर्लिनस्थित नेपाली राजदूतावासले जनाएको छ ।
जेडीओआईमा नेपालका तर्फबाट बर्लिनस्थित नेपाली राजदूत रामकाजी खड्का र जर्मनीका तर्फबाट संघीय रोजगार एजेन्सीका अन्तर्राष्ट्रिय मामिला निर्देशक माइकल भान डेर कमनले हस्ताक्षर गरेका छन् । यो महत्वपूर्ण हस्ताक्षर हुँदा श्रममन्त्री शरतसिंह भण्डारी र जर्मनीका श्रम तथा सामाजिक सुरक्षासम्बन्धी उपमन्त्री लियोन ग्रेब्सको उपस्थिति थियो ।
जेडीओआईमा हस्तारक्षर हुनुले नेपालबाट वैधानिक रुपमा दक्ष श्रमिक पठाउने विषयमा महत्वपूर्ण कार्यको सुरुवात भएको श्रममन्त्री भण्डारीले बताए । उनले वैधानिक बाटोबाट नेपाली दक्ष श्रमिक पठाउने विषयमा थप सहज भएको बताए ।
नेपाल–जर्मनी द्विपक्षी सम्बन्ध, दक्ष आप्रवासी श्रमिक, जर्मन भाषा तथा आवधिक तालिमका विषयमा छलफल भएको थियो । सो अवसरमा जर्मनीकी उपमन्त्री ग्रेब्सले नेपालबाट दक्ष श्रमिक जर्मन श्रमबजारमा आपूर्ति गर्ने विषयमा महत्वपूर्ण सुरुवात भएको बताएकी छिन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google