काठमाडौं । सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन (बालेन्द्र) शाहलाई जिम्मेवारीबोध गरी काम गर्न सचेत गराएको छ । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौं उपत्यकाको फोहोर उठाउने जिम्मा स्थानीय तहको भएकाले आफ्नो जिम्मेवारीबोध गरेर काम गर्न मेयर शाहलाई सचेत गराउने निर्णय गरेको हो ।
बैठकमा शितलनिवास, बालुवाटार र सिंहदरबारको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको अभिव्यक्ति अव्यवहारिक रहेकाले नीतिगत व्यवस्थाको परिपालना गर्न आग्रह गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिंहदरबार, बालुवाटार, शीतलनिवासको फोहोर नउठाउने भन्ने काठमाडौं महानगरका प्रमुखले गरेको घोषणा नीतिगत व्यवस्थाविरुद्ध रहेको बताइन् ।
उनले बैठकमा नीतिगत व्यवस्थाअनुसार फोहोर उठाउन आग्रह गर्ने र फोहोर नउठे नीति पालना गर्न सरकारले गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने विषयमा छलफल भएको बताइन् । उनले बैठकमा आयातित तथा उत्पादित सम्पूर्ण खाद्य पदार्थमा जीवनाषक विषादीको प्रयोगमा सीमा निर्धारण गर्ने विषयलाई मन्त्रिपरिषद्बाट स्वीकृत गरिएको बताइन् ।
याे पनि : यसकारण सिंहदरबारको फोहोर नउठाउने निर्णय लिनुपर्यो : मेयर बालेन