काठमाडाैं । जलेर घाइते भएका कांग्रेस नेता तथा प्रतिनिधिसभा सांसद चन्द्र भण्डारीको खुट्टाको सफल शल्यक्रिया गरिएको छ ।
बुधबार राति बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास लिकेजपछि भएको आगलागीमा जलेर गम्भीर घाइते भएका भण्डारीको भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टर अस्पतालमा शुक्रबार शल्यक्रिया भएको कांग्रेस नेताहरूले जानकारी दिएका छन् ।
सुरुमा कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारपछि उनलाई थप उपचारका लागि मुम्बई लगिएको थियो ।
खुट्टा र मुखमा गरी २०–३० प्रतिशत जलेको चिकित्सकहरूले बताएका छन् । आजै दुईवटा शल्यक्रिया गर्ने तयारी भएकोमा एक शल्यक्रिया भएको छ भने अर्को शल्यक्रियाका लागि छलफल चलिरहेको जनाइएको छ ।
भण्डारीसँगै जलेर घाइते भएकी उनकी आमाको भने बिहीबार निधन भएको थियो ।