काठमाडौं । प्रतिनिधिसभा बैठक एक हप्ताका लागि सरेको छ । मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सभामुख देवराज घिमिरेले सूचना टाँस गरी आगामी साउन २२ गतेसम्मका लागि स्थगित भएको जानकारी गराएका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट बरामद भएको एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन माग गर्दै बैठक अवरुद्ध गर्दै आएको छ ।
उच्चस्तरीय छानबिन समिति नबनेसम्म बैठक चल्न नदिने एमालेको अडान छ। बैठक सञ्चालनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल र सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच छलफल पनि गरेका थिए ।
मंगलबार (आज) पनि सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक राखेर छलफल गरेका थिए । यद्यपि सहमति जुट्न नसक्दा सभामुख घिमिरेले बैठक एक हप्ताका लागि स्थगित गराएका छन् ।