चिकित्सक माथिका आक्रमण बन्द गर्न र स्वास्थ्य सेवा बन्द नहुने वातावरण बनाउन मानवअधिकार आयोगकाे आग्रह

दर्पण दैनिक ११ आश्विन २०८०,१५:५२
post

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले पछिल्लो समयमा बिरामीको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएका आक्रमण, दुर्व्यवहार र स्वास्थ्य संस्थाहरूमा तोडफोडका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले चिकित्सक माथिका आक्रमण तथा कुटपिटका घटना बन्द गर्न र अत्यावश्यकीय स्वास्थ्य सेवा बन्द नहुने वातावरण बनाउन पनि आग्रह गरेको छ । 

आयोगका प्रवक्ता टीकाराम पोखरेलले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै कास्की, मकवानपुर, लमजुङ, चितवन जिल्लालगायतका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकमाथि भएका आक्रमण, दुर्व्यवहार तथा स्वास्थ्य संस्थामा भएको तोडफोड एवम् चिकित्सकहरूले आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गरी आन्दोलनमा उत्रिँदा नागरिकको स्वास्थ्य उपचारमा पर्न गएको असरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

चिकित्सक माथि भएका आक्रमण, स्वास्थ्य सेवाको निरन्तरता तथा बिरामीले भोग्नु परिरहेको समस्याको आयोगले विभिन्न माध्यमबाट निरन्तर अनुगमन गरिरहेको गरिरहेको पनि आयोगले जनाएको छ । बिरामीका आफन्तले उपचारमा संलग्न चिकित्सकहरू आक्रमण गर्ने घटनाको आयोगले अनुगमन भइरहेको उल्लेख गरेको छ ।

उपचारका क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको र त्यसको जवाफमा उपचारमा संलग्न हुनुपर्ने स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिँदा बिरामी मर्कामा परेको आयोगको भनाइ छ । 'शान्ति सुरक्षा र घटनामा संलग्नमाथि कानुनी कारबाहीको माग गर्दै चिकित्सकले असोज ९ र १० गते अस्पतालको आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरी आन्दोलनमा उत्रिएका कारण उपचारका लागि आएका बिरामीहरू सेवा पाउनबाट बञ्चित भएको देखिएको छ,' आयोगले भनेको छ, 'चिकित्सकहरूमाथि आक्रमणका श्रृङ्खलाबद्ध घटनाहरू विगतमा समेत हुँदै आएका थिए । यसबाट स्वास्थ्यकर्मीको मनोबल र स्वास्थ्य संस्थाहरुको प्रभावकारितामा असर परेको देखिन्छ । स्वास्थ्यकर्मीहरू स्वास्थ्य सेवा नै बन्द गरी आन्दोलनमा उत्रिँदा नागरिकको स्वास्थ्योपचारको हकमा असर पर्नुका साथै, स्वास्थ्य संस्थाहरू धराशायी बन्न पुग्ने सम्भावना रहन्छ ।'

आयोगले स्वास्थ्योपचारको क्रममा कुनै चिकित्सक दोषी देखिएमा निजलाई कानुनी कारबाहीको दायरामा ल्याउनुको सट्टा स्वास्थ्य संस्था र सिंगो स्वास्थ्य क्षेत्रलाई नै आक्रमण गर्ने प्रवृत्ति बढ्दै जानु लोकतन्त्र, मानव अधिकार र विधिको शासन विपरीत हुन जाने पनि ठहर गरेको छ । 'अतः कुनै पनि बहानामा स्वास्थ्यकर्मीहरूमाथि आक्रमण, दुर्व्यवहार एवम् कुटपिट नगर्न, स्वास्थ्य संस्था जस्तो संवेदनशील ठाउँमा तोडफोड र आक्रमण नगर्न, स्वास्थ्य सेवा नै बन्द गरी आन्दोलन नगर्न र नागरिकको स्वास्थ्योपचारको हक सुनिश्चित गर्न आयोग नेपाल सरकार, स्वास्थ्यकर्मीहरू र सबै सरोकारवाला पक्षको ध्यानाकर्षण गराउँदछ,' आयोगले भनेको छ ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post