काठमाडौँ । काभ्रेपलाञ्चोक जिल्लाका बाढी प्रभावित तीनवटा स्थानीय तहलाई राहत तथा पुनःस्थापनाका लागि काठमाडौँ महानगरपालिकाले २०/२० लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।
काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बसेको महानगर विपद् व्यवस्थापन समितिको बैठकले पनौती नगरपालिका, रोशी गाउँपालिका, र वेथानचोक गाउँपालिकालाई अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।
महानगर विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापाका अनुसार, पालिकाहरूबाट सहयोगको माग भएपछि छलफल गरेर सो निर्णय गरिएको हो । 'विपद् व्यवस्थापन कोषबाट बाह्यतर्फ सहयोगका माग भएका स्थानीय तहलाई सहयोग उपलब्ध गराइएको हो,' थापाले बताए ।
असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षाले काभ्रेका यी पालिकाहरूमा बाढी र पहिरोले ठूलो क्षति पुर्याएको छ । पनौती नगरक्षेत्रमा मात्र २० जनाको मृत्यु भएको छ भने ५ सयभन्दा बढी घर पूर्णरूपमा र ७१३ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।
रोशी गाउँपालिकामा १२ जनाको निधन, ५ सय घर पूर्ण रूपमा ध्वस्त, र १ हजार ५ सय घर आंशिक रूपमा क्षतिग्रस्त भएको छ । त्यस्तै, वेथानचोक गाउँपालिकामा १२ जनाको मृत्यु हुनुका साथै ९७० घरमा क्षति पुगेको छ।
बाढी र पहिरोका कारण सडक, खानेपानीका ट्यांकी, पाइपलाइन, सञ्चार र विद्युत सेवामा पनि अवरोध भएको छ। साथै, बाढीले हजारौं पशुधन बगाएको छ, जसमा गाई, भैंसी, खसी बोका, र कुखुरा समेत छन् ।
महानगरपालिकाले यस मानवीय संकटमा परेका पालिकाहरूलाई सहयोग उपलब्ध गराउँदै पुनःस्थापनाका लागि विशेष पहल गरेको हो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google