मोबाइल बैंकिङ एप ह्याक गरी चोरी गर्ने आठ जना पक्राउ

दर्पण दैनिक २१ माघ २०७९,०६:०२
post

काठमाडौं । काठमाडौं उपत्यकाको प्रहरी कार्यालयमा आउने उजुरीको आँकडा विश्लेषण गर्ने हो भने धेरैजसो ठगी वा बैकिङ कसुरका छन् । उजुरी छानविन गर्दा व्यक्तिलाई फकाइफुलाइ होस् वा ढाँटेर कसरी ठगी गरी पैसा कमाउने भन्ने ध्याउन्न पीडकमा देखिन्छ । 

ठगी गर्ने तरिका फरक छन् । तर, उद्देश्य एउटै हो, पैसा कमाउने । ठगीका विभिन्न तरिकामध्ये प्रहरीमा आएको एउटा उजुरी रोचक देखिएको छ । १२ कक्षा पढ्दै गरेका पर्सा वीरगञ्जका २० वर्षीय साहिल परबेजले ‘नेपाली गर्ल’ नामक मोबाइल एप बनाएर झन्डै ५० लाख रुपैयाँ झिकिसकेपछि मात्रै यो रहस्यको पर्दाफास भएको हो । 

सुरुमा जिल्ला प्रहरी परिसर ललितपुरमा ललितपुर सातादोबाटोका हरिप्रसाद ढकाल उक्त एपबाट आफू ठगीको भन्दै उजुरी लिएर पुगेपछि प्रहरी अनुसन्धान अगाडि बढेको थियो । उनको मोबाइलमा एकाएक मोबाइल बैंकिङ प्रयोग गरेबापत्को अलर्ट म्यासेज आयो । पैसा काटियो भनेर । उनले न कसैलाई चेक दिएका थिएनन् । तर पनि पैसा गायब भएपछि उनी प्रहरी समक्ष पुगेका थिए । 

पुस २५ गते बेलुका ७ बजेतिर एनआइसी बैंकमा रहेको खाताबाट रकम काटेको थियो । बैंकको त्रुटिले पैसा काट्यो होला, फिर्ता आउँछ भन्ने आशमा बसेका ढकालको खातामा पैसा फिर्ता नआएपछि उनी प्रहरी समक्ष पुगेका थिए । उनको खाताबाट दुई पटकमा चार लाख रुपैयाँ काटिसकेको थियो । 

ढकालको कुरा सुनेर प्रहरी पनि अचम्ममा परे । त्यसपछि खातामा भएको रकम हिनामिना भएको भन्दै प्रहरीले अनुसन्धान सुरु ग¥यो । अनुसन्धानको पाटो खुल्दै जाँदा प्रहरीसमेत छक्क परे । यस्तै, प्रकृतिको घटना मातहतका प्रहरी कार्यालयमा पनि हुनसक्ने आशंकामा ललितपुर परिसरले साइबर ब्युरो र उपत्यका अपराध अनुसन्धान कार्यालयमा बुझ्यो । ब्युरो र अनुसन्धान कार्यालयमा समेत यस्तै प्रकृतिका एक दर्जन घटना दर्ता भएको पाइयो । परबेज र उनका अन्य सात जनाको गिरोहले विभिन्न व्यक्तिलाई मोबाइलमा एप पठाउँदै बैंकिङ एपमा प्रवेश गरेर झन्डै ५० लाख झिकिसकेको रहस्य खुलेपछि अनुसन्धान गर्दा परवेज र उनका सात सहयोगी पक्राउ परेका हुन् । 

पक्राउ परेका अन्यमा भारत बिहार प्रदेश घर भएका २९ वर्षीय अवधेश कुमार, सप्तरी कृष्णासवर गाउँपालिका घर भएका दिलीपकुमार चौधरी, पर्सा विन्दवासिनी बस्ने नगेन्द्र साह कानु, रौतहट रङपुर नगरपालिका घर भएका २७ वर्षीया रविना चौधरी, बारा कोलबी नगरपालिका घर भएका सन्तोष कुवँर र पर्सा वीरगन्ज महानगरपालिका घर भएका २८ वर्षीय राजु पटेल, दिनेश राउत र शिवशंकर राउत छन् । 

प्रहरीको अनुसन्धान उनीहरूले एउटा एप बनाएर अरूको मोबाइलको डाटा ह्याक गरेर रकम झिक्ने गरेको देखिएको छ । घटनाबारे जानकारी दिन शुक्रबार ललितपुर परिसरले पत्रकार सम्मेलनको आयोजना गरेको थियो । पत्रकार सम्मेलनमा ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धि विक्रम शाहले भने, ‘ढकालजी उजुरी लिएर आउँदा त यस्तो पनि हुन्छ र भन्नेमा थियौं । 

जब अनुसन्धानको तार जोड्दै गयौं, तब पत्ता लाग्यो ।’ उनका अनुसार परिसरबाहेक साइबर ब्युरोमा २० वटा र उपत्यका अपराध अनुसन्धान कार्यालयमा ७ वटा यस्तै उजुरी परिसकेको छ । प्रहरीले पक्राउ परेकाविरुद्ध उच्च अदालत पाटनबाट बैंकिङ कसुरमा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । 

यसरी ठगियो

पक्राउ मध्येका परवेजले इन्टरनेटको माध्यमबाट युट्युबमा हेरेर मोबाइल एप बनाएको प्रहरी बयानमा उल्लेख गरेका छन् । उनले सुरुमा नेपाली गर्ल एप अरुको मोबाइलमा ह्वाट्स एपमा पठाउँछन् । जसले उक्त एप खोल्यो उसले ‘इन्स्टल’ गरेलगत्तै भर्चुअल प्राइवेट नेटवर्क (भिपिएन) समेत डाउनलोड गर्नुपर्ने हुन्छ । डाउनलोडपश्चात् एप इन्स्टल गरेलगत्तै सम्बन्धित व्यक्तिको मोबाइल नम्बर पाउँछन् । मोबाइल नम्बरकै आधारमा उनले ह्वाट्स एपमा उक्त एप पठाउँछन् । जसले एप खोल्यो उसको मोबाइलभित्र परवेजले पहुँच पाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । एप इन्स्टल गरेका व्यक्तिको मोबाइलमा पहुँच पाउनेबित्तिकै मोबाइल बैंकिङ पासवर्ड राखे नराखेको पत्ता लगाएपछि पासवर्ड राखेको पाइएमा पैसा अन्तै ट्रान्सफर गर्ने गरेको बयान परवेजले प्रहरीमा दिएका छन् । 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: