
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । आइतबार प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई भक्तपुरस्थित घरबाटै नियन्त्रणमा लिएको हो ।
उनलाई साइबर ब्युरो ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी मोहनमणि अधिकारीले जानकारी दिए । जिल्ला अदालत काठमाडौंले बुधबार उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
ब्यूरोको माग अनुसार अदालतले प्रसाईंसहित बाग्लुङ बडीगाडका जीवन पाण्डे र धादिङ, सुनौला बजारका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको थियो । उनीहरूलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्ने प्रहरीको तयारी छ ।
प्रसाईंविरुद्ध एक महिलाले साइबर ब्युरोमा जाहेरी दिएकी थिइन् । सोसल मिडियामार्फत आफ्नो चरित्रहत्या गरेको भन्दै प्रसाईंविरुद्ध उनले अघिल्लो साता नै ब्युरोमा जाहेरी दिएकी थिइन् । युट्युबरलाई दिएको अन्तर्वार्तामा प्रसाईंले जाहेरीकर्ता महिलालाई लक्षित गरी ‘जापानमा वेश्यावृत्ति गर्ने महिला’ भनेका थिए ।
जाहेरीअनुसार साइबर ब्युरोले गत बुधबार प्रसाईंलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएको थियो । त्यसयता पनि प्रसाईंले विभिन्न युट्युब च्यानलमार्फत आफूलाई समाएर देखाउन चुनौती दिँदै आएका थिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google