नयाँ प्रहरी ऐन जारी नभए २ महिना ९ दिन मात्रै उनकाे कार्यकाल रहने

काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्ले १९ गतेदेखि लागू हुने गरी उनलाई महानिरीक्षक नियुक्त गरेको मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।
हालका आईजीपी दिपक थापाले १८ गते राति १२ बजेदेखि अवकाश पाउँदैछन् । प्रहरीमा विद्यमान ३० वर्षे सेवा अवधिका कारण थापा आईजीपी बनेको साढे ५ महिनामै अवकाशमा गएका हुन् ।
२०५२ मा सेवा प्रवेश गरेका महानिरीक्षक थापा र उनका ब्याचीहरू आगामी १८ भदौबाट अवकाशमा जान लागेका हुन् । त्यसपछि महानिरीक्षकमा ज्येष्ठता र वरिष्ठताका एआईजी खापुङ एकल दाबेदार थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा निस्किनुअघि बसेको मन्त्रीपरिषद्को बैठकले १९ भदौबाट लागु हुने गरी ज्येष्ठता र वरिष्ठताका आधारमा एआईजी खापुङलाई नेपाल प्रहरीको ३२ औं आईजीपी नियुक्त गर्ने निर्णय गरेका हुन् ।
२०५१ सालका प्रहरी निरीक्षकको विज्ञापनबाट खापुङ नेपाल प्रहरीमा प्रवेश गरेका हुन् । २०५१ ब्याचका प्रहरी निरीक्षकमध्ये वसन्तबहादुर कुँवर आईजीपी भएर गएको चैत ४ गते अवकाश गएका थिए । उनकै वैकल्पिक दीपक थापा पनि साढे ५ महिना आईजीपी बनेर अवकाश जादैछन् । यही ब्याच वैकल्पिकमा परेका खापुङ प्रहरी महानिरीक्षक बनेका हुन् ।
खापुङ इन्सपेक्टर रहदा पूर्वको बेलबारी, डिएसपी रहदा दरबारमार्ग लगायतको जिम्मेवारी सम्हाले । एसएसपी रहँदा उनले निकै चुनौतीपूर्ण मानिने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी सम्हालेका थिए । डीआईजी हुँदा कोशी प्रदेशको कमान्ड सम्हाले । खापुङ प्रहरी संगठनमा इमान्दार प्रहरी अधिकृतको रूपमा चिनिन्छन् ।
३० वर्षे सेवा अवधिका कारण उनी आगामी २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जान्छन् । नयाँ प्रहरी ऐन जारी नभए उनी २ महिना ९ दिनका लागि आईजिपी बन्ने छन् ।
खापुङपछि २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागको इन्स्पेक्टरमा भर्ना भएर प्रहरीमा स्थानान्तरण भएका एआईजीपी सिद्धिविक्रम शाहदेखि २०५४ सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा भर्ना भएर एआईजीपी भएका दानबहादुर कार्की, राजन अधिकारी आईजीपीको प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google